मकाउमा पोर्न भिडियो सेयर गरेको आरोपमा पक्राउ परेका ११ नेपाली तारेखमा छुटे

मकाउमा पोर्न भिडियो सेयर गरेको आरोपमा पक्राउ परेका ११ जना नेपाली सेक्युरिटी गार्ड तारेखमा छुटेका छन्।

उनीहरुमाथि एक बालिकासँग एक पुरुषले यौन सम्पर्क गरिरहेको २ मिनेट २९ सेकेण्ड लामो पोर्न भिडियो एक अर्कालाई सेयर गरेको र विदेशमा रहेका अन्यलाई पनि पठाएको अभियोग लगाइएको छ।

साेही कारण सोमबार उनीहरूलाई प्रहरीले पक्राउ गरी छानविन गरेको थियो। पक्राउ परेका नेपालीले आफूहरुले भिडियो सेयर गरेको स्वीकार गरेका छन्। 

तर, उनीहरूले मोबाइलमार्फत पोर्न भिडियो सेयर गरेपनि पैसा कमाउने उद्देश्यले त्यस्तो अपराध नगरेको बयान दिएकाे मकाउ प्रहरीले जनाएकाे छ।

एनआरएनए मकाउका अध्यक्ष पूर्ण गुरुङका अनुसार उनीहरू बिहिबार तारेखमा छुटेका हुन्। ‘११ जना नै तारेखमा छुटेका छन्, प्रहरीले बेलाएको बेला उपस्थिति हुनुपर्छ’, उनले भने।

कुनै वेभसाइटबाट डाउनलोड गरेर हेरेपछि उनीहरूले मे र जुलाई महिनाको बिचमा एक एपमार्फत बालिकाको पोर्न भिडियो सेयर भइरहेको अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले सूचना पाएकाे थियाे। लगत्तै इन्टरपोलले मकाउ प्रहरीलाई यसबारे कारवाही अघि बढाउन निर्देशन दिएकाे थियाे। 

यसरी उमेर नपुगेका बालबालिकाको यौनजन्य भिडियो हेर्नु र सेयर गर्नु ( (चाइल्ड पोर्नोग्राफी) मकाउका कानुनअनुसार अपराध मानिन्छ। 

इन्टरपोलले यसरी पोर्न भिडियो सेयर भइरहेको जानकारी दिएपछि मकाउ प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो।

चार दिन थुनामा बसेर छुटेका ११ जना नेपाली मकाउका चारवटा कम्पनीमा सेक्युरिटी गार्डका रुपमा कार्यरत छन्। उनीहरू २१ देखि ३६ वर्ष उमेरका छन्।
 

प्रकाशित मिति: : 2020-08-28 07:48:34

प्रतिकृया दिनुहोस्