अगैया दुर्घटनाः ११ जना मृतकको नाम खुल्यो, ठेगाना खुलेन

१२ जनाको ज्यान जाने गरी आइतबार राति बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ अगैया नजिकै भएको दुर्घटनामा मृत्यु हुने ११ जनाको पहिचान खुलेको छ। यस्तै एक जनाको अझै  पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ।

यसअघि घाइते २१ जनाको नाम र ठेगाना खुलेकोमा भर्खरै मृतक ११ को नाम पहिचान भएको र ठेगाना पहिचान नभएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

अहिलेसम्म पहिचान खुल्ने मृतकहरूमा रितेश खड्का, पवन भण्डारी, दान बहादुर खड्का, सीता पुन र पूर्ण बहादुर पुन छन्।

यस्तै  नरेन्द्र विक, मोहनचन्द्र विक, बुद्धिराम विक, राम बहादुर पुन र भीम बहादुर विक  रहेको प्रहरीले जनाएको छ। मृतकमध्ये अझै एक जनाको नाम र ठेगाना दुवै खुलेको छैन।

दुर्घटनामा परेका तीन जनाको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेहरू दाङ, रोल्पा र सल्यानका छन्।

गएराति नेपालगञ्जबाट सल्यान जाँदै गरेको  ना ५ ख ५९९५ नम्बरको फोर्स गाडी पूर्व पश्चिम राजमार्गको  ठुरियामा जंगलमा रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएको थियो।

मृतक र घाइते सबै भारतबाट आएका थिए।

बाँकेको राप्ती सोनारीमा अर्को सडक दुर्घटना, एक घाइते

यसैबीच बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. २ मुगुवा खोला नजिकै फेरि अर्को दुर्घटना भएको छ।

अछामबाट मान्छे छोडेर काठमाडौं फर्किदै गरेको बा १ य ७५१ न को पर्यटक बस दुर्घटनामा परेको हो।

अनियन्त्रित भइ सडकमा पल्टिँदा ६ वर्षीय बालक अभि पौडेल घाइते भएको प्रहरी चौकी ढकेरीले जानकारी दिएको छ। अन्य यात्रु भने सकशल छन्।

प्रकाशित मिति: : 2020-06-01 16:44:31

प्रतिकृया दिनुहोस्