गत जेष्ठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीगाउँमा भएको हत्याकाण्डका दाेषीलाई कारबाहीको माग गर्दै कोहलपुरमा र्याली निकालिएको छ।
संयुक्त दलित संघर्ष समिति बाँकेको आयोजनामा आइतबार बिहान र्याली निकालिएको हो । रुकुम हत्याकाण्डको विरोधमा आन्दोलनमा सहभागिहरुले प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल लक्षित व्यवंगात्मक नारा लगाएका छन्।
उनीहरुले ‘बोल पीएम अब त बोल, ‘बोल्दैमा अछुत नहोला’, ‘देखेनौं की रुकुमको उदण्ड,‘बोल्दैनौं त के भयो प्रचण्ड’ भन्ने नारा लेखिएका पम्पेट बोकेका थिए ।
र्याली पछि संयुक्त कोण सभालाई सम्बोधन गर्दै पूर्वसिचाई राज्यमन्त्री दलबहादुर सुनारले रुकुम हत्याकाण्ड जातीय नरसंहार भएको बताए ।
उनले अहिले सिंगो दलित समुदायको अस्मितामाथि प्रहार भएकोले अब देशको व्यवस्था नै परिवर्तन गर्नको लागि सिंगो दलित समुदाय एकजुट हुनुपर्ने बताए।
‘हाम्रा युवालाई कुटिकुटि मारिएको छ । अब सबै दलित एकजुट भएर आन्दोलन गर्छौ ।’ पूर्वमन्त्री सुनारले भने। उनले हत्यामा सलंग्नमाथि कडा भन्दा कडा कारबाही गर्न माग समेत गरेका छन् ।
यस्तै पूर्वसंविधान सभा सदस्या आशा विकले पनि देशभरका ६० दलितहरुको रगत उम्लिएकोले रुकुम हत्याकाण्डका दाेषीमाथि कारबाही गर्न माग गरिन्।
उक्त कार्यक्रममा कोहलपुरका सयौ अधिकारकर्मी, स्थानीय र राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।