कोहलपुर नगरपालिका ११ लोकनगरका स्थानीयले लकडाउनमा भोकभाकै बस्नु परेको भन्दै आन्दोलन गरेका छन् ।
उनीहरुले बुधबार विहान १० बजे वडा नम्बर ११ को कार्यालयमा आएर नाराबाजी गर्नुका साथै आन्दोलन समेत गरेका हुन् ।
लकडाउनको समयमा प्रधानमन्त्रीले ‘कोही भोको पर्दैन, कोही भोकले मर्देन’ भनेपनि स्थानीय सरकारले राहत नै नदिएका कारण मर्ने अवस्था आएका कारण आन्दोलन गर्न बाध्य भएको उनीहरुको भनाई छ ।
वडा नम्बर ११ ले दुई चरणमा राहत वितरण गरेको थियो । तर लोकनगरका अधिकांश स्थानीयले राहत अहिलेसम्म पनि पाएका छैनन् । त्यहाँ करिब २ हजार घरधुरी छन्। लोकनगर दैनिक मजदुरी गरेर जिविकोपार्जन गर्ने थारु र दलित समुदाय बसोबास रहेकाे छ ।
‘घरभित्र बस्न थालेको दुई महिना भइसक्यो । अझैसम्म राहत पाएका छौनौं । सरकार राहतको व्यवस्था गरेको छौ भन्छ खै कसका लागि हो । रोकले भन्दा भोकले मरिने अवस्था आएपछि आन्दोलन गरेका छौं,’स्थानीय जैसरा रिजालले बताइन् ।
उनका अनुसार मिडियामा सम्पूर्ण बस्तीमा राहत वितरण गरेको भनेपनि अझै पाइएको छैन । उनी एकल महिला समेत हुन् । उनी सहित गरिब सय जना भन्दा बढी स्थानीय त्यहाँका आएका छन् । वडाले जसरी पनि राहत दिनु पर्ने उनीहरुको माग रहेको छ । कोहलपुर नगरपालिकाले १ करोड बढीको राहत वितरण गरेको जनाएको छ । तर स्थानीयले राहत नपाएको भन्दै विरोध गरिरहेका छन्