आर्थिक रुपमा सबल बन्दै कीर्तिपुरका विपन्न महिलाहरू

बिएल

कीर्तिपुरका स्थानीय महिलाले हरेक साता ५५ रुपैयाँ जम्मा गरेर घरको आर्थिक बोझ कम गर्न श्रीमानलाई सघाउँने गरेका छन्। 

‘असल छिमेकी नेपाल’ नामक संस्थाको सहयोगमा कीर्तिपुरका स्थानीय महिलाले कृतिलक्ष्मी नामक समूह गठन गरी पैसा जम्मा गर्ने र आवश्यक पर्दा ब्याजमा ऋण लिने गरेका छन् । संस्थाले विभिन्न वडामा यस्ता १० वटा समूह गठन गरिसकेको ब्रेक एन लिंक्स (बीएल मिडिया) लाई बताए।

‘असल छिमेकी नेपाल’ अन्र्तगत बचत समूहका सहजकर्ता लक्ष्मी परियार कीर्तिपुरका १० वटै वडामा ६६ बचत समूह गठन भएको बताउँछिन्।

‘सुरुमा आर्थिकअवस्था कमजोर भएका परिवारका सदस्यको नाम दर्ता गर्यौ र त्यस्ता परिवारको छोराछोरीलाई वल्र्ड भिजन नामक संस्थाको सहयोगमा निःशुल्क पढाउने व्यवस्था समेत गरेका छौं,’ परियारले भनिन्।

उनले विपन्न परिवारका महिलालाई बचत समूहमा आवद्ध गर्ने र बचत भएको पैसालाई उचित ठाउँमा प्रयोग गर्न हामीले त्यसको अनुगमन गर्ने काम पनि गरेका बताइँन्।

‘हामीसँग आवद्ध महिलाले आफूसँग भएको पैसा बचत गर्छन् र त्यसलाई उपलव्धिमुलक काममा लगाउँछन् ।

समूहमा आवद्ध भएका महिलाहरू हरेक वुधबार विहान १० बजे सानो वाकस बोकेर एक ठाउँमा जम्मा भैसक्छन्। १० बजे नपुग्नेलाई उनीहरुले जरीवाना तिराउने समेत गरेका छन्। वाकसको चाबी समूहकै ३ जनाले राख्छन् र मिटिङ्गको दिन खोल्छन्। उठाएको पैसा जम्मा गर्ने गर्छन् ।

समूहको अभिलेख राख्ने, पैसा जम्मा गरेर थैलामा पोको पार्ने सवै काम व्यवस्थित ढंगबाट संचालन गरिएको हुन्छ। जम्मा भएको पैसाबाट व्याजमा पैसा लिएर श्रीमानलाई आर्थिक पाटोमा सघाउन पाउँदा निकै दङ्ग भएको उनीहरू बताउँछन् । भन्छन्– ‘अहिले त हामी पनि कमाउने भाकोछौँ ।’

समूहमा ५० रुपैयाँ शेयर वचत भन्दै उठाउने गरिएको छ। र, समाजिक सुरक्षाकोषको नाममा ५ रुपैयाँ उठाइन्छ।

समाजिक सुरक्षाकोषमा जम्मा भएको रकम आवश्यक परेमा बिना व्याज चलाउन पाइने र शेयर वचतको रकम आवश्यक परेमा १० हजारसम्म ऋण लिन पाइने व्यवस्था छ ।

कीर्तिपुर वडा नं २ की जमुना महर्जन भूकम्प पिडित हुन् । त्यति बेला भूकम्पले भत्काएको घर बनाउन र दुई छोराछोरी हुर्काउन उनलाई निकै चटारो थियो ।

तर उनले पनि स्थानीय बचत समूहबाट १० हजार ऋण लिएपछि उनलाई छोराछोरीको स्कुलको शुल्क तिर्न र घरको रङ्ग किन्न निकै सहज भएको छ।

उनी भन्छिन्– ‘बुढाले दिनभरी ज्याला मजदुरी काम गर्थे। मैले बुढालाई अरु काम सघाए पनि पैसा कमाएर सहयोग गर्न सकिरहेको थिइन। अहिले १० हजार लगेर घरको रंग किन्न र बच्चाको स्कुलको शुल्क तिर्न थोरै भए पनि सहयोग गरेको छु। म यसमा निकै खुसी छु।’

कीर्तिपरकै ललिता महर्जन पनि भूकम्पपिडित हुन्। उनी प्रस्टसँग नेपाली भाषा बोल्न जान्दिनन्। भन्छिन्,‘श्रीमानले प्राईभेट क्याम्पसको क्यान्टिनमा भात पकाउने काम गर्नुहुन्छ। घरमा असाध्य दुःख छ । असल छिमेकीले गरिबलाई यो बचत समूह बनाइदिएपछि म दङ्ग छु। सातामा ५५ रुपैयाँ जम्मा गर्दा पनि १० हजार ऋण लिन पाईन्छ। त्यसले घरको धेरै काम टर्छ ।’

कृतिलक्ष्मी बचत समुहका अध्यक्ष सानुमैया अवाले अरु बचत समूहभन्दा यो अलि फरक भएको बताउँछिन् । ‘समयको महत्व वुझाउन समयमा नआउनेलाई जरीवाना लिने गरिन्छ। यसले महिलालाई समयको महत्वको बारेमा बुझाउन सजिलो भएको छ,’उनी भन्छिन्।

आफूले बचत गरेको पैसा लिएर घर जाँदा महिलाहरूमा हामीले पनि केही गर्न सक्छौं भन्ने आत्मविश्वास चुलिएको छ।

बचत समूह गठन भएको ३६ हप्ता बितिसकेको छ। यस अवधिमा उनीहरूले ३४ हजार १२ सय रुपैयाँ जम्मा गर्न सफल भएका छन्।

 

प्रकाशित मिति: : 2019-07-13 12:02:46

प्रतिकृया दिनुहोस्