नेपालमा केही दिनदेखि परेको बर्षाका कारण भारतको तराई क्षेत्र प्रभावित भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। तराईसँग जोडिएको भारतीय गाउँमा नेपाली नदीहरूबाट गएको पानीका कारण युपी र बिहार लगायतका राज्यहरू अत्याधिक प्रभावित भएका छन्।
बिहारमा मात्र शनिबार ११ जनाले ज्यान गुमाइसेका छन्। यो संख्या अझै बढ्न सक्ने भारतीय अखबारले जनाएको छ।
नेपालसँगै जोडिएको पहाडी जिल्लाहरू उत्तराखण्ड तथा हिमाचल पनि उच्च जोखिममा परेका छन्। त्यहाँबाट बग्ने नदीमा पानीको सतह बढेपछि भारतीय सरकारले ‘हाई अलर्ट’ जारी गरेको छ।
बिहारको सीतामढी–मुजफ्फरपुर र रक्सौल–बैरगानिया रेल बर्षाका कारण ठप्प भएको छ। बिहारमा विगत ५ दिनदेखि पानी परिरहेको छ।
नेपालबाट बग्ने नदीको जलस्तर बढेपछि बिहार बाढीको प्रभावमा परेको छ। बिहारकाे दु:ख भनिने काेशीकाे जलस्तर बढेकाे छ। यसका कारण बिहारतर्फ बसाेबास गर्ने भारतीयहरु त्रासमा छन्। गण्डकमा अाएकाे बर्षाका कारण मुज्जफरपुर र चम्पारन प्रभावित बनेकाे छ। बाग्मतीमा पानीकाे सतह माथि पुगेपछि बिहारमा स्थानीयहरु त्रासमा छन्।