म्याग्दी। कालीगण्डकी नदीको बाढीले सडक कटान गरेपछि बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रे भिरमा कालीगण्डकीले करीब १० मिटर सडक कटान गरेपछि ७६ किलोमिटर लामो बेनी–जोमसोम सडक अवरुद्ध भएको हो ।
बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनका अनुसार सडक अवरुद्ध हुँदा बेनी र जोमसोमका लागि गुडेका सवारीसाधन बीच बाटोमै थन्किएका छन्। यात्रु बाटोमै अलपत्र परेका छन् । ढुवानीसेवासमेत प्रभावित भएको छ। कालीगण्डकीको बहाव नघटेसम्म सडक मर्मत गर्न सम्भव छैन।
म्याग्दीको रघुगंगा गाउँपालिका १ र अन्नपूर्ण गाउँपालिका ७ को सिमानास्थित कालीगण्डकी नदीमाथि रहेको बेलिब्रिज कटानका कारण भत्कने अवस्थामा पुगेको छ ।
गलेश्वरस्थित रघुगंगा नदीमाथिको बेलिब्रिज र बस्ती कटानको चपेटामा परेको छ । बेगखोला, घट्टेखोला लगायतका खोल्सामा आउने बाढीले सडक अवरुद्ध गराउन थालेको छ ।
स्तरोन्नतिको क्रममा रहेको सडकको धेरै ठाउँमा हिलो जमेर गाडी फस्ने समस्या छ । बैसरी, चमेरे, तितर, जलथले र काभ्रेभिरमा पहिरोले सताउन थालेको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाको काम समेत प्रभावित भएको छ । सामान्य अवस्थामा पाँच घण्टामा पार गर्न सकिने ७६ किलोमिटर दुरीको यो सडक पार गर्न अहिले पुरै दिन लाग्ने गरेको छ ।