भक्तपुर । लगातारको वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले बगाएका एक युवाको प्रहरीले उद्धार गरेको छ।
सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित हनुमन्ते खोला किनारमा हिँडिरहेको अवस्थामा काभ्रे कोशीपारी घर भई हाल बालकोट बस्ने ३२ वर्षीय सन्तोष पहरीलाई उर्लिएर आएको बाढीले बगाएको थियो।
खोलाले बगाए लगत्तै महानगरीय प्रहरी प्रभाग भक्तपुरको प्रहरी टोली र स्थानीयको सहयोगमा उद्दार गरी नागरिक अस्पताल गठ्ठाघरमा उपचार भइरहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता रेवतीरमण पोखरेलले जानकारी दिए। घाइतेको अवस्था गम्भीर रहेको उनले बताए।
खोलामा आएको बाढीका कारण भक्तपुर र मध्यपुरथिमिका बासिन्दाको जनजीवन कष्टकर बनेको छ । हनुमन्ते खोलाको किनारामा रहेका बस्तीका बासिन्दा बस्ती छाडेर सुरक्षित स्थानमा जान थालेका छन्। खोलाको बहाब बढेर बस्तीमा पानी पस्न थालेपछि जगाती, हनुमानघाट, चुपिनघाट, सल्लाघारी, राधेराधे, बालकोट, सागबारी लगायतका क्षेत्रमा टहरामा बस्दै आएका बासिन्दा सुरक्षित स्थानतर्फ गएका प्रहरीले जनाएको छ।
खोला किनाराका सयौँ घरमा बाढी पसेपछि यहाँका बासिन्दाले बस्ती छाडेका हुन्। बालकोटको नयाँ बेलिब्रिज र मध्यपुरथिमि दधिकोट जोड्ने हनुमन्ते पुल भाँसिएर भत्कने अवस्थामा पुगेको छ। जिल्ला प्रशासन कार्यालयले बाढीबाट सर्तक रहन र सुरक्षित स्थानमा जान खोला किनाराका बासिन्दालाई आग्रह गरेको छ भने उद्धार सामग्रीसहित सुरक्षाकर्मीलाई उच्च सर्तकतामा राखिएको प्रजिअ नारायण भट्टले जानकारी दिए।