बाढी-पहिरोमा परी १९ को मृत्यु, ७ घाइते, ७ बेपत्ता

अविरल वर्षाका कारण बागमती नदीमा आएको बाढीले रौतहटको गढीमाई नगरपालिका–३ स्थित लक्ष्मीपुरमा बाँध भत्काएपछि अवरुद्ध पूर्व–पश्चिम महेन्द्र राजमार्ग । तस्बिरःरासस

काठमाडौं । दुई दिनदेखि परेको लगातार वर्षाका कारण हालसम्म १९ जनाको मृत्यु हुनुका साथै ७ जना बेपत्ता भएका छन्।

वर्षापछिको बाढी, पहिरो तथा डुबानका कारण ७ जना घाइते हुनुका साथै ४ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ।

काठमाडौंको मुलपानीमा छिमेकीको घरको पर्खाल भत्किएर सँगैको घर भत्कँदा ३ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ३५ वर्षीया शर्मिला यादव उनका १० वर्षीय छोरा कुन्दन र मितु यादव छन्।

बारा घर भएका उनीहरू लामो समयदेखि मुलपानीमा बस्दै आएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए।

यस्तै वर्षापछि आएको पहिरोमा परि खोटाङमा पनि एकै परिवारका ३ जनाको ज्यान गएको छ। मृत्यु हुनेमा खोटाङ गाउँपालिका-२ का रेखा राई, रोमन राई र रोहन राई रहेको गृह मन्त्रालयले जानकारी दिएको छ।

घरमै रहेका बेला पहिरोले पुरिएका बेपत्ता उनीहरुको शव फेला परेको हो। सोही पहिरोमा परेका ३० वर्षीय विष्णुकुमार राई घाइते भएका र उनको उपचार भइरहेको गृह मन्त्रालयले जनाएको छ।

यस्तै काभ्रेमा पनि पहिरोमा परि एकै परिवारका २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा हजुरआमा र नातिनी रहेको मन्त्रालयले जनाएको छ।

काभ्रेको बनेपास्थित नालामा पहिरोले घर भत्काउँदा एकै परिवारका दुईको मृत्यु भएको हो। मृत्यु हुनेमा ५० वर्षकी गोमा दंगाल र ७ वर्षीया सोहनी दंगाल छन्। घटनामा ३० वर्षीय सुशीला दंगाल र तीन महिनाकी बालिका अनुष्का दंगाल भने घाइते भएको प्रहरीले जनाएको छ।

यस्तै भोजपुरमा पनि २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रामप्रसाद राई गाउँपालिका-७ का ६६ वर्षीय जगतबहादुर राई र टेम्केमैयुङ गाउँपालिका-९, लेखर्कका १४ वर्षीय जनक बिक छन्।

खोलाले बगाएर झापामा आज एक बालिकासहित दुई जनाको ज्यान गएको छ। इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनका अनुसार इलाम चुलाचुली गाउँपालिका–१ का ५१ वर्षीय अञ्चल लावती र सङ्खुवासभा घर भई हाल दमक–१० मावली आएकी छ वर्षीया बालिका एलिजा न्यौपाने रहेका छन्। आज बिहान घर नजिकैको कमल खोलाले बगाएर बेपत्ता भएका ५१ वर्षीय लावतीको शव झापाको कमल गाउँपालिका–२ स्थित भालु गाउँस्थित कमल खोलामा अपराह्न ४ बजे मृत अवस्थामा शव भेटिएको प्रनि एक्तेनले बताए। यसैगरी मामा घर आएकी पुनम न्यौपानेकी छोरी एलिजा स्थानीय खोलाले बगाएर आज अपराह्न मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

यस्तै ललितपुरको बागमती गाउँपालिका-२, बगुवाका ११ वर्षीय सुरज जिम्बा पहिरोमै पुरिएर मृत्यु भएको छ।

अविरल वर्षाका कारण गजुरी गाउँपालिका–४ बालुवाडाँडामा घर भत्किँदा एक बालिकाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा कृष्णबहादुर तामाङकी आठ वर्षीया छोरी अस्मिता तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए। घर भत्किँदा १२ वर्षीय जयराम तामाङ घाइते भएकोले उपचार भइरहेको छ। 

मकवानपुर, रामेछाप,सिन्धुली, पर्सा, ओखलढुंगा र धादिङमा पनि एक/एक जनाको मृत्यु भएको छ।

जनकपुर-महोत्तरीको रातु खोलामा आएको बाढीले एक वृद्धलाई बगाएको छ। बलवा नगरपालिका–२ का ७० वर्षीय हनिफ बैठालाई रातु खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

यस्तै मोरङ, सुनसरी, इलाम, रौतहट, पाँचथर र ललितपुरमा पनि एक/एक जना बेपत्ता भएका गृह मन्त्रालयले जनाएको छ।

यस्तै सिराहा, भक्तपुर र सुनसरीमा गरी ४ जनाको उद्धारसमेत गरेको मन्त्रालयले जनाएको छ।

विभिन्न ठाउँमा ५ सय घरपरिवार विस्थापित भएका मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: : 2019-07-12 20:03:54

प्रतिकृया दिनुहोस्