काठमाडौं । हिजो रातिदेखि परेको अविरल वर्षाको कारण हेटौंडा कुलेखानी सिस्नेरी दक्षिणकाली हुँदै काठमाडौँ जाने सडक अवरुद्ध भएको छ। इन्द्रसरोवर गाउँपालिकाको वडा नं २ र ३ को विभिन्न ठाउँमा पहिरो गएको छ भने वडा नं ३ को ज्यामिरेमा २०० मिटरसम्म सडक पहिरोले पुरिएको र सो सडकको पहिरो पन्छाउन केही दिन लाग्ने सिस्नेरी प्रहरी चौकीले जानकारी दिएको छ ।
यसैगरी फाखेल फर्पिङ भएर काठमाडौँ जाने सडकखण्डमा इन्द्रसरोवर गाउँपालिका–५ महालक्ष्मी खोलामा आएको पहिरोले सडक अवरुद्ध भएको छ । सो सडक खुलाउने प्रयास भइरहेको फाखेल प्रहरी चौकीले जानकारी दिएको छ।
त्रिभुवन राजपथको हेटौँडा काठमाडौँ सडक यातायात भने सञ्चालनमा रहेको जिल्ला ट्राफिक कार्यालय मकवानपुरले जानकारी दिएको छ। रासस