रौतहट । लगातार तीनदेखि परेको अविरल वर्षासँगै आएको बाढीले पूर्व पश्चिम राजमार्ग अन्तर्गत चन्द्रपुर-बागमती खण्डको लच्कामा सडक अवरूद्ध भएको छ।
राजमार्ग अवरूद्ध हुँदा करिव ५ सय ठूला साना सवारी बिच बाटोमै रोकिएका छन्।
रातिदेखी सवारी आवतजावतमा समस्या भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरका डिएसपी कवित कटवालले जानकारी दिए।
‘राजमार्गको लच्कामा पानीको वहाव घटेको छैन। केही सवारी साधन बाढीमा पसेका थिए। प्रहरीले ती गाडीलाई बाहिर निकालिसकेको छ,’ कटवालले भने।
तीन दिनदेखिको वर्षाले रौतहट जिल्लाकै जनजीवन प्रभावित भएको छ।
जिल्लाका एक दर्जनभन्दा बढी बस्तीमा पानी पसेको छ। जिल्लाको बन्जरहा, औरैया, बेलबिछवा, बडहर्वा, गौर, गढौ लगायतका बस्ती डुवानको उच्च जोखिममा छन्।
बागमती र लाल बकैया, चादी, लमाहा, झाँझ नदिमा पानीको बहाव उच्च हुँदै गएको छ।
स्थानीय प्रशासनले नदी छेउका बासिन्दाले अवस्था हेरी बस्तिमा नदी पस्न सक्ने सम्भावना भएमा सुरक्षित स्थानमा जान आग्रह गरेको छ।
यस्तै सवारी साधन डुब्ने स्थिति भएमा समयमै सुरक्षित स्थानमा लैजान, महत्वपूर्ण कागजात, पैसा पानीले नभिज्ने गरी राख्न, जीर्ण कच्ची वा पक्की घर नबस्न आग्रह गरेको छ।