अविरल वर्षापछि, ५ को मृत्यु, सिंहदरबारको पर्खाल भत्कियो

तस्बिरः बिएल

काठमाडौं । दुई दिनदेखि परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोले देशभरको जनजीवन प्रभावित भएको छ।

निरन्तरको अविरल वर्षाले देशका विभिन्न भागमा राजमार्गहरु अवरुद्ध भएका छन्। ठाउँ ठाउँमा पहिरो गएको छ। यो समाचार तयार पार्दासम्म आज ५ जनाको मृत्यु हुनुका साथै सिंहदरबारको पर्खालसमेत भत्किएको छ।

ललितपुरमा पहिरोमा पुरिएर एक बालकको मृत्यु

ललितपुरको बाग्मती गाँउपालिका २ माल्टा बगुवामा पहिरोमा परि एक बालकको मृत्यु भएको छ।

अविरल वर्षापछि आएको पहिरोमा परि ११ वर्षीया सरोज जिम्माको मृत्यु भएको ललितपुर प्रहरी प्रमुख एसएसपी रविन्द्र धानुकले जानकारी दिए।

उनका अनुसार स्थानीय पन्चलाल जिम्माका छोरा ११ वर्षीया सरोजको मृत्यु भएको हो।

सिंहदरबारको पर्खाल भत्कीयो

सिंहदरबारको पूर्वी गेट नजिक भत्किएको पर्खाल। तस्बिरः सामाजिक सञ्जाल

अविरल वर्षाका कारण सिंहदरबारको पर्खाल भत्कीएको छ।

महानगरीय प्रहरी वृत्त सिहंदरबारका डिएसपी कौशल बुढाथोकीका अनुसार सिंहदरबारको पूर्वी गेट क्षेत्रको पार्खाल भत्किएको हो।

काभ्रेमा २ को मृत्यु, तीन घाइते

काभ्रेका एसपी जयराम सापकोटाका अनुसार अविरल वर्षाका कारण घर भत्किँदा काभ्रे बनेपा नगरपालिका ३ नालामा २ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ५० वर्षकी गोमा दंगाल र ७ वर्षीया सोहनी दंगालको मृत्यु भएको हो। उनीहरु हजुरआमा-नातिनी हुन्।  घटनामा परिवारका अरु ३ जना घाइते भएछन् ।

भोजपुरमा दुईको मृत्यु

गएरातिको वर्षासँगै आएको पहिरोबाट भोजपुरमा २ जनाको ज्यान गएको छ। जिल्लाको रामप्रसाद राई गाउँपालिका ७ बासिखोराका ६६ वर्षीय जगतबहादुर राई र टेम्केमैयुङ गाउँपालिका– ९ लेखर्कका १४ वर्षीय जनक विकको मृत्यु भएको प्रहरीले जनाएको छ।

देशभरीमा बाढी पहिरो, उद्धार कार्यमा सबै सुरक्षा निकाय परिचालित

प्रकाशित मिति: : 2019-07-12 12:19:55

प्रतिकृया दिनुहोस्