बैंलोर । भारतको बैंगलोरस्थित एक भवन भासिँदा तीन नेपालीसहित ५ जनाको मृत्यु भएको छ।
मंगलबार राति २ बजे भएको घटनामा परी एकै परिवारका तीन नेपालीको मृत्यु भएको हो। मृत्यु हुनेमा बझाङको थलारा गाउँपालिका–२ बगाडाका छन्।
घटनामा ज्यान गुमाउनेमा बैंगलोरको शिवनगरस्थित ‘साइ आदि अम्बल’, अपार्टमेन्टमा सुरक्षागार्डका रुपमा काम गर्ने बगाडाका २८ वर्षीय नारायण खड्का, उनकी पत्नी २६ वर्षीया निरु र चार वर्षीया छोरी अनुष्का छन्।
पार्किङसहितको भुइँतलामा खड्का परिवारको बसोबास थियो। भासिएको भवनबाट १२ घण्टापछि शव निकालिएको मृतकका परिवारले जानकारी दिएका छन्। मृतक खड्काका छोरा भने धनगढीमा छन् ।
तीनै जनाको शव बओरिङ अस्पतालमा पोस्टमार्टम गरिएको छ।
ज्यान गुमाउने अन्य दुईजना भारत बिहारका रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। घटनामा परी ७ जना घाइते भएका छन्।
भवनमा बस्दै आएका परिवारको भने प्रहरीले उद्दार गरेको छ। घट्ना भएपछि कर्नाटक राज्यका डेपुटी चिफ मिनिस्टर निरीक्षण गर्न घट्नास्थल पुगेका थिए।
समाचारहरुका अनुसार बिना अनुमति मापदण्ड पूरा नगरी गुणस्तरहित तरिकाले भवन बनाइएकाले भवन भत्किएको भन्दै यसमा जिम्मेवार निर्माण कम्पनी, इन्जिनियर, आर्किटेकलाई कारवाही गर्नुपर्ने माग उठेको छ।