बालिका बलात्कारको योजनाकार नै आफ्नै काकी !

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वभनगामा कट्टीस्थित लक्ष्मीबल्लभ नरसिङ माध्यमिक विद्यालयमा एक किशोरीमाथि भएको बलात्कार घटनाको नयाँ रहस्य खुलेको छ । झुक्याएर मदिरा खुवाई १४ वर्षीयामाथि बलात्कारमा सहयोग गरेको आरोपमा उनकै काकी मङ्गलबार पक्राउ परेकी छन् ।
सर्वत भन्दै झुक्याएर स्प्राइटमा मदिरा मिसाएर वाइन खुवाएपछि नशामा लठ्ठिएकी बालिकामाथि बलात्कार गरिएको पीडितले बताएकी छन् । घटनाको मुख्य योजनाकार बालिकाकी नाताभित्रकै ३५ वर्षीया काकी रहेको उजुरी परेकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए ।

स्कुलको निर्माण भइरहेको नयाँ भवनमा मजदुरी गर्ने बालिकालाई पारिश्रमिक दिने बहानामा अबेर रातिसम्म प्रतिक्षा गर्न लगाई खाजामा नशालु पदार्थ मिसाएर खान दिएर बलात्कार गरेको नायब उपरीक्षक रिमालले बताए ।
मजदुरीको काममा लगाइदिने काकीकै दबाबमा विद्यालयका कार्यालय सहायक शिवशङ्कर मण्डल र भवन निर्माणको रेखदेख गर्ने नाम, ठेगाना थाहा नभएको मुन्सीले झुक्याएर नशालु पदार्थ सेवन गराई घटना गराएको पीडितको भनाई छ ।
भतिजीलाई झुक्याउँदै स्प्राइटमा वाइन मिसाएर नशामा लठ्याई बलात्कार गर्न लगाएको तथ्य बिहीबार छोरी होसमा आएपछि बताएको पीडितकी आमाले बताइन् । पीडितकी आमाले दिएको जाहेरीका आधारमा प्रहरीले उनकी काकीलाई पक्राउ गरेर जबर्जस्ती करणीअन्तर्गतको मुद्दा चलाउन जिल्ला अदालत सप्तरीबाट मङ्गलबार म्याद थप गरेर घटनाको अनुसन्धान शुरु गरेको जनाएको छ ।
प्रहरीले अभियुक्त मण्डल र मुन्सीलाई घटनामा संलग्न मुख्य अभियुक्त तथा पीडितकी काकीलाई भने घटनाको मुख्य योजनाकारका रुपमा अनुसन्धान शुरु गरेको छ । रासस

प्रकाशित मिति: : 2019-07-10 10:53:44

प्रतिकृया दिनुहोस्