काठमाडौं । राजधानीको बौद्धस्थित समता अस्पतालकी सरसफाई कर्मचारी २७ वर्षीया विमला तामाङको झुण्डिएको अवस्थामा शव भेटिएको घटना थप रहस्यमय बन्दै गएको छ ।
घटनाको सत्य, तथ्य छानविनको माग गर्दै विमलाका परिवार तथा निर्मला हत्याकाण्ड संघर्ष समितिले स्वतन्त्र छानविन समिति बनाएर सत्यतथ्य पत्ता लगाउन माग गरेको छ ।
मंगलबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर समितिले घटनाको यथार्थ लुकाएर अन्याय गर्न खोजिएको भन्दै छानविन गर्न माग गरेको हो ।
तामाङको शव झुण्डिएको अवस्थामा असार ३ गते अस्पतालकै एक कोठामा फेला परेको थियो ।
रामेछाप, दोरम्बा घर भएकी विमलाले आत्महत्या गरेको नभै हत्या भएको परिवारले जिकिर गर्दै आएको छ । तर प्रहरीको प्रारम्भिक रिपोर्टमा भने आत्महत्या नै उल्लेख गरिएको छ ।
अघिल्लो दिन सोमबार राति विमला हराएपछि परिवारका सदस्यले खोजी सुरु गरेका थिए । परिवारका सदस्यले भोलिपल्ट अस्पतालभित्रै ताल्चा लगाइएका दुई कोठामा विमला भएको आशंका गर्दै खोल्ने प्रयास ग। तर अस्पतालका कर्मचारीले सञ्चालक उत्तम सञ्जेलकी पत्नी कला अधिकारी सञ्जेललाई नसोधी खोल्न नमिल्ने बताएपछि ढोका खोलिएन। भोलिपल्ट सोही कोठामा विमला झुन्डिएको अवस्थामा फेला परेकी थिइन्।
यही घटनाक्रमले यो काण्ड रहस्यमय देखिएको हो । त्यसैगरी मृतकका साथबाट प्रहरीले ‘सुसाइड नोट’ फेला पारेको थियो । उक्त नोटमा दुई कर्मचारीको नाम लेखिएको थियो भने ‘म्याम’ भनेर सञ्जेलपत्नी कलालाई संकेत गरेको मृतक परिवारजनको दाबी छ ।
घटनाको प्रकृति हेर्दा आत्महत्या हुनै नसक्ने भन्दै परिवार र समितिले पत्रकार सम्मेलन गरेर अस्पताल प्रशासनले घटना ढाकछोप गर्न खोजेको आरोप लगाएको हो ।
पत्रकार सम्मेलनमा समितिले जारी गरेको प्रेस विज्ञप्तिमा गौशालाका डिएसपी प्रदिपकुमार सिंहले हेर्नुपर्ने केशलाई माथिल्लो निकायका डिएसपी होविन्द्र बोगटिलाई मृतकको परिवारको जाहेरी लिन एक हप्तासम्म आलटाल गरिएको आरोप लगाइएको छ।
२ हप्तापछि मृतकका तामाङ्को भिएसआर जाँच्न पठाइएको तर उक्त परीक्षण परिवारको उपस्थिति बिना गरिएको समितिको आरोप छ ।
भिएसआर पुनः परीक्षण गर्न माग गर्दा शवबाट अब रगत नै नआउने भएकाले परीक्षण गर्न नमिल्ने जवाफ चिकित्सकले दिएको पत्रकार सम्मेलनमा समितिका अध्यक्ष सिंहदेव तामाङले बताए ।
राजनीतिक चलखेलका कारण घटनाको सत्यता लुकाएर परिवारलाई अन्याय गर्न खोजिएको अध्यक्ष तामाङको आरोप छ। ‘घटनाको छानविन गर्नुको साटो लास बुझ्न दबाब दिइयो । ताल्चा लगाएको कोठाभित्र लास भेटिएको घटना छानविन नगरी कसरी सहमति हुन सक्छ?,’ तामाङले प्रश्न गरे ।
अध्यक्ष तामाङले गृहमन्त्री रामबहादुर थापाको ध्यानाकर्षण गराउँदै आफैं छानविनमा सहभागि हुन आग्रहसमेत गरे ।
आफूहरुले सकभर न्यायपूर्ण तरिकाले प्रशासनले नै सत्य तथ्य उजागर गरोस् भन्ने चाहेको तर छलछाम गरेर अन्याय गर्न खोजिएपछि बाध्य भएर पत्रकार सम्मेलन गरेको अध्यक्ष तामाङले बताए ।
अभियुक्तलाई किटानी जाहेरी दिइएको जानकारी दिँदै तामाङले दोषीलाई जन्मकैद हुनुपर्ने माग गरे। साथै समता अस्पतालको कर्मचारी भएका नाताले विमला तामाङको परिवारलाई उचित क्षतिपूर्ति पनि दिनुपर्ने माग अघि सारिएको उनले बताए ।
समता अस्पतालको संचालक समितिमाथि पनि छानविन हुनुपर्ने माग गरिएको छ ।
समितिले जारी गरिएको विज्ञप्तिमा हत्याको आशंका गर्दै लेखिएको छ–‘हाम्रो विचारमा अस्पतालभित्र दुई नम्बरी धन्दा भइरहेको थियो । मृतक विमला तामाङ त्यसबारे केही जानकार भएकाले त्यसलाई बाहिर उजागर गर्लिन् भनेर विष खुवाई वा इन्जेक्सन दिई मारेको हुनपर्छ भन्ने हाम्रो बुझाई छ।’
समितिले अपराधीलाई जन्मकैदको सुनिश्चितता र विमलाको परिवारले पाउनुपर्ने क्षतिपूर्ति नपाएसम्म लास नबुझ्ने अडान लिएको छ।
पत्रकार सम्मेलनमा विमलाका श्रीमान् बुद्धराज तामाङ उपस्थित भए पनि केही बोलेनन्। समितिले उनी शोकमा भएकाले केही बोल्न नसक्ने जानकारी गराएको थियो ।