युवालाई प्रेरणा दिन जुम्लामा जुटे उद्मशील र स्वरोजगारी (भिडियोसहित)

तस्बिरः बिएल

चन्दननाथ नगरपालिकाको आयोजनामा सोमबार जुम्लामा रोजगार मेला सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका सभापति लालबहादुर सार्कीले भने–‘नेपाली अर्थतन्त्रको पहिलो आधार घरेलु उद्यम हो। उद्यमशिलातामा ध्यान दिन सकिएमा बेरोजगार भएर बस्नु पर्दैन ।’

एकदिने मेलामा उद्यम व्यवसायमा लामो समय काम गरेर सफल भएका थुप्रै व्यक्तिका कथा र उनीहरुको उद्यमको विषयमा छलफल गरिएको थियो । भैंसी पालन, तरकारी व्यवसाय, स्थानीय उत्पादनको व्यवसाय गरेर सफल भएका व्यक्तिका कथाले उपस्थित सबैलाई उत्प्रेरित गराएको थियो ।

उद्यमशीलताबारे विषयगत विज्ञहसँग छलफल गरिएको थियो । रोजगार सेवा केन्द्रका संयोजक ओम चन्द, घरेलुु तथा साना उद्योग विकास समितिका हरि श्रेष्ठ, त्रिचन्द्र क्याम्पसका लेक्चरर महेन्द्र कार्की लगायतले उद्यमशीलता र स्वरोजगारबारे चरणबद्ध प्रस्तुतिकरण गरेका थिए ।

पातरासी गाउँपालिका ६ घोडासिनकि ज्योती महताराले १४ वर्षदेखि तरकारी व्यवसाय गर्दै आएको र उक्त व्यवसायबाटै आफ्ना दुई छोरा काठमाडौं पढाउन सम्भव भएको बताइन् । उनले भनिन् , ‘परिणाम आउन थालिसकेको छ। जेठो छोरोले भर्खर नेपाल टेलिकममा नाम निकालेको छ। कान्छो छोरो बी फार्मेसी पढिरहेको छ। यो सबै तरकारी व्यवसायबाट मात्र सम्भव भएको हो । उद्यमशीलताले जीवन फेरिदो रहेछ ।’

त्यस्तै गोठिचौर गाउँपालिकाका विष्णु धितालले १० वटा भैंसी पालेर दैनिक ३० लिटर दूध बेचिरहेको बताए । उनले २१ वर्षअघि १६ हजार ऋण लिएर सुरु गरेको व्यवसायमा लगनशीलता र मिहिनत गर्न सकेकाले मासिक ३०–४० हजार कमाउन सकेको बताए ।

यस्ता थुप्रै व्यवसायी र उद्यमीका व्यवसाय, उत्पादनलाई देखाएर बेरोजगारलाई स्वारोजगार हुन उत्प्रेरणा दिने उद्धेश्य रहेको आयोजक चन्दननाथ नगरपालिकाले बताएको छ।

नगरपालिका मेयर कान्तिका सेजुवालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उद्यमशिलता र रोजगार विषयमा लामो छलफल भयो । रोजगार मेला आयोजना गर्नको लागि सूर्य सामाजिक सेवा संघले सहयोग गरेको थियो ।

प्रकाशित मिति: : 2019-07-08 17:54:31

प्रतिकृया दिनुहोस्