प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले दक्षिण एशियामै नेपाल प्रहरी उत्कृष्ट भएको चर्चा चल्ने गरेको भन्दै अपराध अनुसन्धान, शान्ति सुरक्षा कायममा विषेश ध्यान दिन प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्।
कास्कीको पोखरास्थित प्रहरी अधिकृतलाई निर्देशन दिदै खनालले भने, ‘दक्षिण एशियामै नेपाल प्रहरी उत्कृष्ट भएको चर्चा चल्ने गरेको छ, यसलाई उचाईमा पुर्याउन सबैजना कटिबद्ध भएर लाग्नू।’
भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई अवलम्बन गर्दै काममा चुस्त दुरुस्त रहनुपर्ने उल्लेख गर्दै महानिरीक्षक खनालले बर्दीको इज्जत र प्रतिष्ठा कायम राख्न र असल चरित्र भएकासँग मात्र संगत गर्नुपर्नेमा जोड दिए।
कार्यालय व्यवस्थापन, सरसफाई, व्यक्तिगत टर्नआउटलगायतका काममा विशेष ध्यान दिन निर्देशन दिँदै प्रहरी महानिरीक्षक खनालले कार्यालयको अभिलेख, योजना र अनुगमनलाई थप चुस्त दुरुस्त रुपमा प्रस्तुत गर्नपर्ने बताए ।