सिक्टा सिचाइँको क्षतिग्रस्त नहर खण्डको मर्मत सुरु

Agency

बाँके जिल्लामा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिचाइँ आयोजनाको क्षतिग्रस्त मुल नहरको मर्मत सम्हार सुरु भएको छ ।

२०७५ साउन ७ मा राती मुल नहर ढकेरीको चंगाई खोलानजिकको नहर भत्किएको थियो। नहरको मर्मत आयोजना निर्माण गर्ने ठेकेदार कम्पनी कस्ले गर्ने भन्ने अन्यौलका बीच ९ महिनादेखि नहरको सामान्य मर्मत सम्हार हुन सकेको थिएन ।

बाँकेका किसान, राजनीतिक दल तथा जन प्रतिनिधिहरूको निरन्तर प्रयासपछि प्रधानमन्त्री केपी ओली, सिचाइँ मन्त्री बर्षमान पुनलगायत नेपाल सरकारका उच्च अधिकृतले बैशाख ३ मा सिक्टा सिचाइँ आयोजनाको क्षतिग्रस्त नहर खन्डको निरीक्षण गरेका थिए ।

प्रधानमन्त्री सहितको टोलीले नहरको निरीक्षण गरेपछि बैशाख १० मा मन्त्रिपरिषदले सिक्टा सिचाइँ आयोजनाको क्षतिग्रस्त खन्डको मर्मत तथा सुधारको काम गर्ने निर्णय गरेको थियो ।

मन्त्री परिषद् निर्णयपछि सिक्टा सिचाइँ आयोजनाले भत्किएको नहरको प्यानल र घुलनशील माटोका कारण प्वाल परेको नहर खन्डको मर्मत सम्हारको काम सुरु गरेको हो ।

बर्षायाममा मर्मत सम्हार गरी बर्षातमा हुने थप क्षतिलाई जोगाउने र शाखा नहर निर्माण भएको क्षेत्रको करिब १ हजार हेक्टर क्षेत्रमा सिचाइँ सुविधा दिने उद्देश्य रहेको आयोजनाले जनाएको छ ।

मुल नहरको २ ठाउँमा भत्किएको करिब २५ मिटर प्यानलमा पक्की संरचना निर्माण र घुलनशील माटोका कारण प्वाल परेको नहरको करिब डेढ किलोमिटर क्षेत्रको किनारामा चुन, ढुंगा, बालुवा र गिट्टी लगायतका सामाग्री प्रयोग गरेर मर्मतको काम सुरु गरिएको हो ।

करिब ६० लाखको लागतमा तीन वटा प्याकेज बनाएर बर्षाको बेला जंगल क्षेत्रको पानीबाट थप क्षती जोगाउने उद्देश्यले क्षतिग्रस्त क्षेत्रमा सामान्य मर्मत सुधारको काम सुरु गरिएको आयोजनाका सिनियर डिभिजन इन्जिनियर बिष्णु भन्डारीले बताए।

बाँके जिल्लाको करिब ३४ हजार हेक्टर जमिनमा सिंचाइँ सुविधा पुर्याउने उद्देश्यले १३ वर्षअघि निर्माण सुरु भएको राष्ट्रिय गौरवको सिक्टा सिंचाइँ आयोजनामा हाल १५ अर्ब रुपैयाँ खर्च भइसकेको छ ।

आर्थिक वर्ष २०७६ ÷०७७ सम्ममा २५ अर्ब २ करोडको लागतमा पुरा गर्ने लक्ष्य राखिएको भएपनि निर्माण कामले गति लिनसकेको छैन ।

प्रकाशित मिति: : 2019-07-07 22:55:48

प्रतिकृया दिनुहोस्