साइकलमा घुमफिर गर्ने लत लागेकोले बेला बखत घुमफिर गर्न तल तल लाग्ने। एक दिन बिहान शसस्त्र प्रहरी बलका तात्कालिन एआईजी साहेव सिंह बहादुर श्रेष्ठ, उमेश ढुङ्गानासँगै छोटो दूरीको साइक्लिङ यात्रा कार्यविनायक जाँदा सामन्नेको बाग्मती पच्छाउँदै हेटौंडा जान मन लागेको धैरै भयो तर, तालमेल नमिलेको कुरा चिया पिउँदै बताएँ। रूट बताएँ। सक्कियो। तर, बेला बखत साईक्लिङ्गमा भेट हुँदा भने आईजीसाहेव त्यो रूटमा साइक्लिङ गर्न उहाँलाई पनि इच्छा जागेको कुरा प्रकट गर्न थाल्नुभयो।
म भने उहाँलाई लिएर जाने कुरामा मौन थिएँ। द्विविधामा थिएँ। शसस्त्र प्रहरी बलका उच्च ओहदाका अधिकृत। भवितव्य केही भइहाल्यौ भने त! मनमा थोरै डर थियो। तर, एक दिन मौनता भंग भयो सकारात्मक पक्षमा।
मिति तय गरियो। २०७० साल चैत १६ गते काठमाडौं उपत्यकामा घोडे जात्रा पर्वको बिदा थियो। घोडे जात्राको दिन साइकल यात्रा गर्ने। सबेरै निस्कियौं। चक्रपथ छोडेर धापाखेल, बज्रवाराहि हुँदै टिका भैरव पुगियो। बायाँ पट्टि पुल तरेर उकालो लागेपछि कान्ति राजपथ शुरू भयो। फराकिलो, घुम्तीयुक्त कच्ची बाटो उकालो भए पनि औधी रमाइलो।
बसन्त ऋतु, ऋतु राज। बिरूवाले पालुवा फेर्दा थियो। गाढा गुलाफी रंगमा ढकमम्क फुलेका आरू। हिँउ जस्ता सेता आलुवखडा, नास्पाती र मयलका फूल। त्यसमाथि बिहानीपख चराको चिरविरे आवाज सुन्दै कहिले दायाँ कहिले बायाँ टाउको घमाउदै प्रकृतिको अनुपम सौन्दर्य पान गर्दै साइकल चलाउनुको मज्जा बेग्लै थियो।
अझ प्रत्येक घुम्तीबाट देखिने उत्तरपट्टिको हिमालले तस्विरको लागि रोक्न बाध्य बनायो। मूल बाटो नछाडि केही पर पुगेपछि तिनपाने भञ्ज्याङ आयो। तिनपाने भञ्ज्याङमा मात्र चिया, खाजा खाईयो। केही बेरको आरामपछि ९ किमी ओह्रालो झरेर छपैली बजार पुगियो। त्यहाँबाट ओह्रालो लागेपछि बिचमा बजार छैन। छपैली कटेपछि खाना खान पाउने ठाँउ अनिश्चित भएकोले दालभात यतै खाने निँधो गरियो। खाना अर्डर गरेको केही क्षणमा खाना त आयो। थालमा दाल, भात तरकारीको थुप्रो देख्दा मुख पेट त्यसै अघायो। हामीले चार भागको एक भाग मात्र ल्याउन भन्यौं। चार भागको एक भाग खान पनि मुस्किल पर्यो। खाना खाइसक्दा मद्यान्हको घाम निक्कै छिप्पिसकेको थियो। दक्षिणतर्फ फर्केको डाँडा। घामले रनक्कै पारे पनि बाटो छोट्याउनुपर्ने वाद्यता थियो। आ–आफ्नो साइकल च्यापेर ओह्रालो लाग्यौं। आईजी साहेव अतितमा चुर्लुम्म डुबेर पुराना कहानी बेला बखत सुनाउन चुक्दैन थे।
भीरको बाटो, मध्य दिनको राप। सितल दिने बुटो एउटै छैन। सकस। पहाडका खोँचबाट बेला बखत अट्टेस मट्टेस गरी चलेको हावाले निक्कै चुनौंती दिइरहेको थियो।
सुनसान ठाउँमा अकस्मात असाधारण पोसाकमा देखिएका दुई जना साइकलेको आगमनले अचम्मित आँखा र ओठबाट फुस्केको मधु मुस्कानको सौन्दर्यले साइकलेलाई रोक्न बाध्य बनायो। बाटोमा बस बिग्रिएर बसेका रहेछन्। मिस्त्री सातदोबाटोबाट आउनुपर्ने। अन्यौल। निरासता चिर्दै ‘भरीया थाला पर्यो जस्तो छऽऽ, धामी काँ बाट आउँछ नी बहिनी?’ ठट्यौलो भावमा सोधेँ। ‘थला पर्यो चल्नै सकेन दाई। धामी लिन सातदोबाटो गा खन्’, लजालु स्वरमा भनिन्। नमुना मच्छेन्द्रमा पढ्ने छात्रा रहिछन्।
‘अक्षेता पाती छैन? मै ठीक गर्दिन्छु।’ कुरो सुनेर बसका निरास यात्री सबै हलल्ल हाँसे। एक छिनको ठट्टा पछि बाटो ततायौं।
पहाडका कोखाका पातला बस्ति छिचोल्दै ओह्रालो बाटो कुदायौं। बस्ती पातलो छ। ओह्रालो सक्कीएर दाँया मोडिएपछि पुल देखियो। बाग्मती बगुवा पुल लम्बाई ८५ मीटर। सूचनापाटी छेउ उभिएर पालैपालो सम्झनाका लागि तस्वीर खिच्यौ।
राजधानीबासीको मलमूत्रले धमिलिएको र फोहर पानीमा पौडि खेलिरहेको बच्चाहरू देख्दा निक्कै नमज्जा लाग्यो। पुल तर्दै गरेका बटुवालाई जिज्ञाशा मेटाउन सोधेँ- यहाँ माछा पाइन्छ? जवाफमा विविध जातका माछा सदाका लागि बाग्मतीबाट बिदा लिइसकेको बताए। आँखै बिझाउने रंगी चंगी प्लास्टिकका झोला देखिँदोरहेछ बाग्मती नदि भरी।
बाग्मतीको बगुवा पुल वारी ललितपुर, पुल तरेर पारी पट्टि मकवानपूर। काम नपरी हम्मेसी कोही नपुग्ने ठाँउमा लहडै लहडमा पुगेका, दुई साइकल यात्री मध्येको एक म पुल तिरै अल्मलिएँ।
एआईजी साहेव भने अलि अगाडि बढे। गाँउका बच्चाहरू साइकल देखेर हुरूरू आएर घेरे। कोही उचाल्ने, कोही धकेल्ने गर्न थाले।
चैत मासको उखरमाउलो घाम। सिमलको बोट मुनि आराम गरिरहेका स्थानीयहरुले पनि सवाल जवाफ गर्न थाले। अघि बढेका सहयात्रीलाई साह्रो परेछ। अक्मकिँदै म तिर हेर्दै पाइला गह्रौं बनाए। कुरा अलि खस्रो भए जस्तो लाग्यो।
‘के उद्देश्यले यता आउनुभएको?’
‘काठमाडौंमा घोडे जात्रा छ आज, हामी चाहिं साइकलमा घुम्ने उद्देश्यले आएका,’ एआईजी साहेबको जवाफ भूईमा खस्न नपाउँदै अर्को प्रश्न थपियो।
‘घुम्ने पनि कुनै उद्देश्य हुन्छ र? त्यो पनि साइकलमा।’ एआईजी साहेब अक्क न बक्क भए।
असहज परिस्थिति सहज बनाउन फटाफट अगाडि लागेँ र अभिवादन गरेँ।
ल्हास्सो, फ्याफुल्ला मे मे... ‘ल्हास्सो ल्हास्सो। फ्याफूल्ला।’ उताबाट अभिवादन फर्काए।
‘कहाँबाट पाल्नुभयो?’
‘राजधानी बाट,’ मैले जवाफ दिएँ।
संवाद सहज बनाउन कुरा अन्तै मोडेँ। ‘मकवानपुर जिल्ला त आफ्नो मावली जिल्ला पर्यो माया लाग्छ, त्यसैले आ’को।’
मावली जिल्ला भनेपछि परिस्थिति अलि सहज भयो। भलाकुसारी, परिचय आदान प्रदान शुरू भयो। उद्देश्यबिहीन साइकल यात्रीसँग निक्कै गफ गाफ भयो। छुट्टिने बेलामा पक्की पुल माथि पुरानो झोलुङ्गे पुलको छेउमाको खाजा घरमा लगे। खाजा खासै छैन, तर मदिरा चाँहि प्रशस्तै। हामीले चिया मात्र खाने भन्यौं। मावलीले खुवाएको चिया पछि हामी छुट्टियौं।
सिरसिरे सुख्खा वतास। कुथुर्के चरोको ट्वारर ट्वारर गर्ने आवाज। न्याउलीको टाढासम्म सुनिने पिहुँ पिहुँ गर्ने विरही गीत। मद्यान्हको घामले लथ्य्राक लुथ्रुक परेको ज्यान हम्मेसी उकालो चढ्ने हिम्मत गरेन।
ललितपूर र मकवानपूरका भिमकाय पहाड चिरेर नागवेली हुँदै अविरल बगेकी वाग्मती नदिको सुनिरहुँ लाग्ने छङछङ छङछङ आवाज। जति हेरे पनि नअघाउने नौलो दृष्यले निक्कै ऊर्जा दियो।
बाटो छेउछाउ खासै बस्ती भेटिएन। बाग्मती तरेर उकालो लागेर अफ्ठेरा बाटोहुँदै करिब ४-५ कि.मी.अलि तेर्सो बाटो छिँचोलेपछि ठिंगन बजार आयो। प्रहरी चौकी, विद्यालय नजिकै सानो बजार भएको बस्ति निक्कै रमाईलो रहेछ।
२—४ वटा स–साना किराना र चिया पसल। साइकले देखेर केही स्थानीय झ्याम्मिए। त्यहाँ पनि अलि माथि घले गाँउ रहेछ। थानीयले जानकारी दिए। करिब ६-७ वर्षकी नानी साइकल निकालेर मूल बाटोमा फूर्तिलो पाराले कुदाइन्। हामीसँग एकै छिनमा घुलमिल भइन्।
छेवैमा एक जना पाका चियाको चुस्कीसँगै हामीसँग गफिए। काठमाडौंमा घर भएर पनि गाँउ फर्केका रहेछन्। निजामति सेवामा राजधानी बस्दा छिप्पाएको रोग गाउ फर्केपछि स्वच्छ हावा पानीले लघारेको प्रसंग साथै इतिहास सुनाए।
मोटर बाटो जोड्न २०११ सालमा तात्कालिन शाही सेनाले खोलेको रे कान्ति राजपथ। उनैले जानकारी दिए। उनले ठिङ्गनमै बस्न सुझाएका थिए।
समय घर्की सकेकोले बिश्रामको आग्रह नकारेर गन्तव्य छोट्याउन तिर लाग्यौं। साइकले नानी पनि खिन्न भइन्। बजार बिस्तारै ओझेल पर्यो, हामी ओह्रालो लाग्यौं। माथिबाट नदिको खोचमा नीलो पानीको साह्रै लोभ लाग्दो कुण्ड देखियो। ओह्रालो सकिए पछि सिमात खोलाको पुल आयो।
सिमात, निक्कै शान्त, सुन्दर र असाध्य रम्य वातावरण। मन त्यसै रमायो। मनमा लाग्छ सिमातले बाग्मतीको जस्तो दशा भोग्न नपरोस्।
यसरी सधै कन्चन पानी बगिरहोस् सलललल....। सहयात्री भन्छन्,‘त्यो निलो कन्चन पानीमा झ्वाम्म हामफाल्न मन लाग्यो।’ समय थिएन, भाका राखेर हिड्यौं अर्को पटक आउने गरी। तर, कहिले थाहा छैन।
सिमातको पुल तरेर नौ कि.मी उकालो लाग्यौं। गाँउका मान्छे बर्खाबाट बच्न खरले घरको धूरी छाउदै थिए। सडकमा एक्कासी नौलो बहुरुपी भेषका दुई साइकले देखेपछि बच्चाहरू कहालिएर रून थाले। उकालोले अत्याएको मन। बच्चा रोएको देखेपछि बाँकी दूरी सोध्ने हिम्मत गर्न सकेन आस्याङसँग। हामी चूप चाप एकोहोरो उकालो लागि रह्यौं।
उकालो लाग्दै गर्दा साँझ छिप्पिन थाल्यो। जंगल निश्पट्ट अध्यारो भयो। झ्याँउकिरी को एकनासे आवाजले मन अधैर्य बनायो। बासको अनिश्चितता। हावा जोडले चल्न थाल्यो। अत्यासलाग्दो। अलि बेर हिँडेपछि टाढा डेउढीमा जितपूर फेदि बजारको पिलपिले बत्ती देखेर आशा जाग्यो। प्रायः पसल बन्द थिए। एउटामा साहुजी देखिए। बास मिल्ने हो की नमिल्ने दोधार मनले सोध्यौं। गाँस र वास दुवै मिल्यो। गाँस लिए पछि बास सित्तै।
सुत्ने ठाँउ साहुजीले देखाए। धूँवाले भरिएको अध्याँरो कोठा। एका पट्टि कुनामा अँगेना। अर्का पट्टि कुनामा दुई वटा पलङ्ग। एउटामा एक जना र अर्कोमा दुई जना सुत्न मिल्ने। हाम्रो भागमा एक जना अट्ने पलङ्ग। अर्को जगेडा राति आउने ट्रक वालालाई।
साइकल थन्कायौं, झोला बिसायौं। साइकलेसँग भलाकुसारी गर्न एक दुई गर्दै कोठा भरी मान्छे जम्मा भए। साहुजीले जर्किनमा ल्याए बेइमानी पानी।
साहुनीले ठूलो कराहीमा ढिँडोको पानी बसालिन्। ढिँडो पाकाउँदै गर्दा अरु ५–६ जना जम्मा भए। वरिपरि स्टिल गिलास फिजाए। वरावर बेइमानी पानी खनाए। पानीको प्यासले तिर्खाएकालाई स्पेशल। खुव गफियौं। ढिंडो सकियो गुन्द्रुक, अण्डा र गोलभेडा मिश्रीत तिहुनको झोलसँग।
सबैलाई नसा चढ्दै गयो मद्य रातसम्ममा। एक जना महिलाले उनको देवरको जीउ, डाल, रुप रङ्ग म सँग काटिकुटी मिल्ने भएकोले मित लाउने कुरा अघि बढाइन्। साइकलेले साइनो लगाउने भयो जीतपूर फेदिमा।
मद्य रातमा के गर्ने हो थाहा छैन। थकाइले चूर छ ज्यान। मद्य रातमा भाले काट्ने, मीत लगाउने कुरा आइसक्यो। क्या फसाद। बास बसेको भाले काट्दा पाप लाग्छ, सखारै मित लगाउने भनेर बल्ल बल्ल छुटकारा पाइयो। निन्द्राले आँखा बटारीएर चिम्सा भइसके, गफको बिट मार्ने छाटकाँट देखिदैन।
बल्ल सुत्ने अनुमति पाइयो। तर, एक जना अट्ने खाटमा दुवै जना सुत्नुपर्छ भन्छन्। मान सम्मान र मायाले पनि कतिपय अवस्थामा दुःख भोग्नुपर्छ। लामो वाद विवाद गर्नुभन्दा विवाद समाधान गर्ने उपाय निकालेँ।
साइकल चढ्दाको थकाइ मेट्न सँधै राडी र तन्नामा सुत्ने अतिरञ्जित कुरा गरेर गुन्द्री मै सुत्ने जिकिर गरेँ। यसो ढल्किएको मात्र के थिएँ झोलाको सिरानी पनि राम्ररी मिलाउन नभ्याई भुसुक्कै।
सबेरै कुखुरा बास्न थाल्यो। एफ एम रेडियोमा दोहोरी गीत घन्कीयो। निंद्रा खल्बलियो । सवेरै धारामा भीड लागि सकेको थियो मुख धुने, पानी भर्ने महिलाहरूको। मितको प्रसंङ्ग पानी पंधेरोमा पनि चल्यो। बेलुकी अपुरो मितेरी साइनो गासिएकी मितिनी आएर तामाङ लवजमा भनिन्, ‘होइना मित ता जासारी नि लागाउनु पार्छा। जिउ–डाल, रूप, रांगा–रोगान ट्याक्कै मिल्ने, तेसैता जानु मिल्दैना”।
मेरा प्रस्तावित मितज्यू चाहिं बेलुकीकै आइर्याकको मातले रातो भाले क्वाईय क्वाईय पारेको सपना देखिरहेका थिएकी क्या हो देखिएनन् त्यहाँ हामी हिँड्ने बेलासम्म। जिन्दगीमा एक पटक लगाउनै लागेको मितेरी सम्बन्ध पनि अधुरै रह्यो।
एक हल साइकलेले खाना खाई बास बसेकोसमेत जम्मा रु.२६० जितपूर फेदिमा। मुहार पुस्तिकामा लेखे सहयात्रीले। बास दिने दाजुसँग फोटो खिचि लाग्यौ ओह्रालो, गढि तिर।
समुन्द्र सतहबाट करिब १,००० मी. उचाइमा अवस्थित ऐतिहासिक मकवानपूर गढी। दरवारलाई बाहिरी आक्रमणबाट सुरक्षित राख्न वरिपरीवाट ढुंगाको अग्लो, चौडा पर्खालले घेरीएको छ। पर्खाल बाहिर गहिरो पोखरीको घेरा छ। पर्खालको टुप्पोमा वरिपरि तोप राख्ने ठाँउ बनाइएको छ। अहिले हेर्दा लाग्छ त्यस वखत सामरिक महत्वलाई बुझेर निकै होसियारीपूर्वक, दुरदर्शिताका साथ सुरक्षात्मक उपाय अपनाइएको छ।
गिद्दे नजर राखि बङगालका मुगल सम्राट, नवाव मीर कासिमको फौजले दुस्साहसपूर्ण आक्रमण गर्दा गोर्खाली फौजले ई.सं.१७६३ को जनवरी १२ का दिन निस्तेज पारी वीर गाथा युक्त इतिहास रचेको ठाँउ। नेपाल आक्रमण गर्न आएका मुगल पिठ फर्काएर बुर्कुसी मारे। छाति फुल्छ गर्वले।
सेन वंशीय राजाको कलात्मक प्रस्तर दरवारको खण्डहर भग्नावशेष अझै देख्न सकिन्छ। तोप लगायतका अन्य सामरीक महत्वका हतियार २०३६ सालमै सुपारीटार व्यारेकमा सारियो रे। मूल ढोकाबाट दरवार परिसर छिरे पछि वंश गोपालको मन्दिर। अचम्म। वंश गोपालको मूर्तिलाई सिक्रीले बाँधेर राखिएको। प्रचिन कालमा वंश गोपाल जी सुटुक्क वाहिर निस्कन्थे रे।
हरेक मौसमका लागि वातानुकुलित गढिबाट मकवानपुरको मनोरम उपत्यका देखिन्छ। ऋतु अनुसार रुपरंग फेरिन्छ उपत्यकाको। लहलह गहुँ, आलुको बिचमा तोरी फुल्दा होस या पाक्दा। छुपु छुपु धान रोप्ने बेला होस या काट्ने, गह्राहरु बिछट्टै राम्रो देखिन्छ सूर्योदय र सूर्यास्तको समयमा।
तर विडम्बनाको कुरा बिसौं वर्षदेखि हरेक वर्ष एक पटक मकवानपूर गढि पुगेकै छु। हरेक बर्ष यसको क्षयीकरण बढ्दो छ। संरक्षणको अभावमा भग्नाबशेष मा परिणत हुँदैछ।
ओह्रालो हुईकिए पछि एकै छिनमा चुच्चे खोला पुगियो। यहाँ तात्तातो खुवा पाइन्छ उदाए चलदेखि अस्ताए चलसम्म। चुच्चेखोलाबाट हेटौडा ७ कि.मी। हेटौंडा नजिक माछा प्लानमा जलेवा लगायतका विभिन्न आगन्तुक चरा देख्न सकिन्छ। यसरी कान्तिपुरबाट बज्रवाराहि, टिका भैरव, तिनपाने भन्ज्याङ्ग, छपैली, वगुवा पुल, इपा, ठिगंन, सिमात, जितपूर भञ्ज्याङ्ग, मकवानपूर गढी, चुच्चेखोला, चौघडा, हेटौंडा सम्म पुग्दा करिव ९४ कि.मी. तय हुन्छ।
समय भए यहाँबाट यात्रा लम्बाएर सौराहा जान सकिन्छ। अथवा साइकलमा नै वा सुमोमा कुलेखानी हुँदै काठमाडौं फर्कन सकिन्छ। साइकलमा काठमाडौं आउन एक दिन मै सकिन्छ वा कुलेखानी, सिस्नेरी, चित्लाङ्गमा बास बस्दै काठमाडौं आउन सकिन्छ।
हामी दुवैको अर्को दिनको गन्तव्य फरक थियो। चौघडामा रोक्कियौं सुरेश बानियाँ दाइको घरमा। नुहाईधुवाइ पछि शरीरमा स्फूर्ती बढ्यो, खानाले तागत।
केहीबेरको बिश्राम पश्चात हामी दुई साइकले छुट्टियौं। एआईजी साहेब चितवन तिर प्रस्थान गर्नुभयो। साँझ पख फोनमा एआईजी साहेब निक्कै उत्साहित हुनुहुन्थ्यो। लामो समयदेखि युरिक एसिडले दुखाएको गोडा सेकुवा खाँदा पनि केही भएन। रोगै चट! म भने एक रातको आराम पछि सिमभञ्ज्याङ्ग हुँदै काठमाडौं लागौं कि, चिसापानी गढी, कुलेखानीहुँदै काठमाडौं भन्ने द्विविधामा निदाएँ।
त्यो बाटो भएर हामीले भ्रमण गरे पश्चात त्यस राजमार्गको केही खण्डमा पुनः यात्रा गरियो। अहिले निक्कै स्तरोन्नती भई सकेको छ। कतिपय मनिसहरु मोटर, मोटर साइकल मा ओहोर दोहर गर्न थालेका छन्। समयले धेरै कोल्टो फेरिसक्यो।
तत्कालिन ए.आई.जी साहेब आई.जी.पी भएर अवकास प्राप्त भइसके। जमघटमा त्यो यात्राको निक्कै चर्चा हुन्छ। हामी दुवैको पुनः एक पटक यो बाटो भएर यात्रा गर्ने धोको छ।
basnyatdev@gmail.com