एचआइभी सङ्क्रमण दर बढ्दै

तस्बिरः एजेन्सी

डोटी। पछिल्लो समय डोटीमा थुप्रै सङ्ख्यामा एचआइभी सङ्क्रमित रहेको तथ्याङ्क सार्वजनिक भएको छ। जिल्ला अस्पताल डोटीका अनुसार, जिल्लाभर पहिचान भएका ९८० एचआइभी सङ्क्रमित रहेका छन्। तीमध्ये ५० जना बालबालिका रहेका छन्। यो सङ्ख्या जिल्ला अस्पतालमा औषधोपचार गराउन आउनेको मात्रै भएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा भुषण मिश्रले बताए।

अस्पतालको सम्पर्कमा नआउनेलाई गणना गर्दा यो सङ्ख्यामा वृद्धि हुनसक्ने उनको अनुमान छ। जिल्ला अस्पताल डोटीमा सञ्चालित एआरटी सेन्टरका अनुसार डोटीमा एचआइभी सङ्क्रमित ९८० मध्ये ५७० महिला, ३६० पुरूष र ५० जना बालबालिका छन्।

समाजले हेला गर्ने डरले एचआइभी सङ्क्रमित महिला खासै खुलेर आउन नसक्ने र उपचारसमेत गराउन नआउने गरेका कारण जिल्लामा एचआइभी सङ्क्रमितको सङ्ख्या बढिरहेको स्वास्थ्यकर्मी बताउँछन्। एचआइभी सङ्क्रमितमध्ये ५१८ जनाले नियमितरुपमा सम्पर्कमा रहेर औषधि सेवन गरिरहेको एआरटी सेन्टरका काउन्सिलर केपी रेग्मीले बताए।

उनका अनुसार चालू आर्थिक वर्षको साउनदेखि अहिलेसम्ममा मात्रै नयाँ बिरामी ११ जना थपिएका छन्। १०-१५ वर्ष अगाडिदेखि पनि एचआइभी सङ्क्रमित जिल्ला अस्पतालको नियमित सम्पर्कमा रहेर औषधि सेवन गर्ने गरेका छन्। चेतनाको अभाव, सामाजिक भेदभाव र लाञ्छनाका कारण एचआइभी सङ्क्रमित चिकित्सक तथा स्वास्थ्य संस्थाको सम्पर्कमा आउन नसकेकाले यो सङ्ख्या अझै बढ्न सक्ने अनुमान मेडिकल सुपरिन्टेन्डेन्ट डा मिश्रको छ।

एचआइभीको सङ्क्रमितको रोकथामका लागि जिल्लामा विभिन्न सङ्घसंस्थाले काम गरिरहेको छ तर पनि यसको रोकथाम हुन सकेको छैन। डोटीमा एचआइभीका कारण हालसम्म कति जनाले ज्यान गुमाए भन्ने विषयमा यकिन तथ्याङ्क नभए पनि कम्तीमा १०० जनाभन्दा बढीले ज्यान गुमाइसकेको हुनसक्ने एचआइभीको क्षेत्रमा काम गर्ने संस्थाको अनुमान छ। 

कामका लागि भारत गएका श्रीमानले असुरक्षित यौन सम्पर्कबाट सङ्क्रमणमा पर्ने र पछि घरमा आई श्रीमतीलाई सार्ने गरेको एचआइभीको क्षेत्रमा काम गर्ने संस्थाको भनाइ छ। एचआइभीपीडित भएका यहाँका महिलाले समाजको भेदभावकोसमेत सामना गर्नुपरिरहेको एचआइभीको क्षेत्रमा काम गर्ने संस्था सिडिएफका सिद्धराज जोशीले बताए। ‘श्रीमानको गल्तीले सरेको रोगको सामना श्रीमतीले गर्नुपरेको छ।’

एचआइभी सङ्क्रमित भएर भारतबाट घर फर्केकासमेत उपचारपछि पुनःकाम गर्न भारत जानेक्रम समेत बढेको छ। केही एचआइभी सङ्क्रमित एकल महिला विभिन्न संस्थाले आयोजना गरेको महिला लक्षित कार्यक्रमबाट तालीम लिएर आय आर्जनमा सक्रिय हुन थालेका छन् भने कोही समाजको डरले गाउँघरमै बसेर रोग लुकाउन बाध्य भएका छन्।

समग्र सुदूरपश्चिम प्रदेशमा छ हजार ७२४ जनामा एचआइभी सङ्क्रमण रहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपूरकले जनाएको छ। हालसम्म सुदूरपश्चिम भरमा तीन हजार ७६ ले एआरटी सेवन गरिरहेका छन्। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७४/०७५ सम्मको तथ्याङ्क हेर्दा सुदूरपश्चिम प्रदेशमा ६७६ जनाले एचआइभी/एड्सका कारण ज्यान गुमाइसकेका छन्। यो प्रदेशमा गएको आर्थिक वर्षमा मात्रै २४७ जना नयाँ सङ्क्रमित देखिएका छन्।

एचआइभी सङ्क्रमित कमला मल्लले डोटी जिल्लामा पछिल्लो समयमा खुलेर आउने एचआइभी सङ्क्रमितको सङ्ख्या बढ्दो भए पनि स्थानीय सरकारले कुनै ठाउँमा पनि खासै गतिलो सहयोग नगरेको आरोप लगाए।

स्थानीय सरकारसँग हामीले प्रस्ताव लिएर जाँदा तपाईंहरू त डलरको खेती गर्न सक्ने हामी के सहयोग गर्न सक्छौँ भनेर उल्टै जवाफ दिने गरेकोसमेत उनको गुनासो छ।

‘हामी त सङ्क्रमित भइसकेका छौं, अब हाम्रो लागि नभए पनि हाम्रा छोराछोरीको भविष्यका लागि भए पनि स्थानीय सरकारले सोच्नुपर्छ’, उनले भने, ‘सरकारले सङ्क्रमित बचाउनका लागि विशेष कार्यक्रम बनाउनुपर्छ।’

यति मात्र नभई डोटीमा कतिपय एचआइभी सङ्क्रमित एकल महिला आफू र बालबच्चा कसरी हुर्काउने भनेर चिन्तित हुने गरेको बताउँछन्। जोरायल गाउँपालिका– ५ गड्सेराका स्थानीयवासी डम्बर विष्टले भने, ‘पुरूषले रोग सार्ने, महिलालाई गाउँमा अनुहार देखाउन लाज हुँदैछ, यहाँको एचआइभी रोक्न ठोस कदम चाल्नु जरुरी भएको छ।’ रासस

प्रकाशित मिति: : 2019-07-07 17:56:25

प्रतिकृया दिनुहोस्