कपडा सिलाउने टेलरिङ व्यवसायको आवरणमा अवैध लागूऔषधको कारोबार गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछाप दोरम्बाका सुरेश नगरकोटी उनकी श्रीमती अजिता गुरूङ छन्।
नेपाल प्रहरी लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले ललितपुर-११ बाट आइतबार उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
व्यूरोका अनुसार पक्राउ परेका दम्पत्तिले लामो समयदेखि कपडा सिलाउने टेलरिङको व्यवसाय गरेको आडमा अवैध लागूऔषधको कारोबार गर्दै आएका छन्।
प्रहरीले उनीहरुको साथबाट डाईजेपाम १७८३ एम्पुल, बुप्रोनोर्फिन २१ सय २१ एम्पुल र फेनारगन १२ सय १ एम्पुल बरामद गरेको छ।
प्रहरी अनुसन्धानमा उनीहरुले लामो समयदेखि टेलरिङबाटै खुद्रा तथा होलसेलमा लागूऔषधको कारोबार गर्दै आएको खुलेको हो।