‘डिप बोरिङ’ बन्यो, बिजुली छैन? कृषक मारमा

बिएल

मोरङको सुनवर्सी नगरपालिका ५ स्थित बनकोलमा २ वर्षअघि एउटा ‘डिप बोरिङ’ निर्माण भएको थियो। तर, त्यो ‘डिप बोरिङ’ लाई आवश्यक पर्ने बिजुली उपलब्ध गराउन नसक्दा यहाँका किसानहरू मारमा परेका छन्। 

मोरङ क्षेत्र नम्बर–५ का सभासद् शिवकुमार मण्डलले सांसद कोषबाट ३५ लाख निकासा गर्दै बनकोल वरिपरी दुई सय बिघा जग्गामा सिचाई गर्न सहज हुने अनुमानसहित ‘डिप बोरिङ’ को निमार्ण गराएका थिए।

तर, राष्ट्रिय प्रशारण लाइनसँग जोडिएको यो स्थानमा एउटा ट्रान्सफर्मर जडान गर्न नसक्दा सबै किसान मारमा परेका छन्। अहिले कृषकहरू ‘डिप बोरिङ’ को सुविधा हुँदा पनि आकाशको पानीमा भर पर्नु परेको छ।

स्थानीय कृषक राजकुमार राजवंशी आफूहरू बारम्बार रंगेली विधुत प्राधिकरणमा डेलिगेसनमा गएको तर अहिलेसम्म सुनुवाई नभएको दुःख व्यक्त गर्छन्।

‘लाइन नहुँदा सबै प्रयास बालुवामा पानी हालेको जस्तो भएको छ,’ राजवंशी भन्छन्।

बोरिङ सञ्चालनका लागि २ सय केभी ट्रान्सफर्मर जडान गर्नुपर्ने आवश्यकता छ।

दुई वर्षदेखि बोरिङ सञ्चालनमा नआएपछि स्थानीयका लागि यो स्थान दाउरा राख्ने थलो भएको छ।

स्थानीय कृषक जोगिन्दर ऋषिदेव भन्छन्, ‘वर्षा नभइरहेको अहिलेको अवस्थामा बोरिङ सञ्चालन भएको भए हामीहरूलाई धेरै राहत हुन्थ्यो।’

 

प्रकाशित मिति: : 2019-07-07 15:01:02

प्रतिकृया दिनुहोस्