प्रेरणाको दाइजो मुद्दा तेस्रोपटक सुनुवाइमा : पहिला जिताउने चोलेन्द्रले अब के गर्छन् ?

पूर्वराजा ज्ञानेन्द्र शाहले छोरी प्रेरणा राज्यलक्ष्मी शाहलाई दाइजो दिएको भनिएको 'विजय बास' फेरि एकपटक चर्चामा आएको छ । 

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीश दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलासले शुक्रबार ‘मिसिल झिकाउने’ आदेश दिएपछि बिजयबासको चर्चा सुरू भएको हो । 

योसँगै विजयवासको मुद्दा तेस्रोपटक सुनुवाइ हुने भएको छ । 

यसअघि दुईपटक सुनुवाइ भएर फैसला भैसकेको यो मुद्दा पहिलोपटक प्रेरणाको पक्षमा फैसला भएको थियो भने दोस्रोपटक नेपाल ट्रष्टको  पक्षमा । दोस्रोपटक फैसला हुँदा प्रेरणाले विजयवास गुमाएपछि उनले सर्वोच्च अदालतमा पुनः पुनरावलोकन निवेदन दायर गरेकी थिइन् । त्यही निवेदनमाथि सुनुवाई गर्ने क्रममा यसपटक मिसिल झिकाइएको हो । 

छाउनीस्थित १५ रोपनी जग्गामा रहेको बिजयबास दाइजोमा आएको भन्दै प्रेरणाले ०७१ साल माघ २५ सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन् ।

तत्कालीन प्रधानन्यायाधीश रामकुमारप्रसाद साह र तत्कालीन न्यायाधीश चोलेन्द्र शम्बेर जबराको संयुक्त इजलासले प्रेरणाको दाइजो ठहर गर्दै फैसला गरेको थियो ।

नेपाल ट्रष्टको कार्यालयले उक्त फैसला चित्त नबुझेपछि पुनरावलोकन निवेदन हालेको थियो ।

तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीश दीपककुमार कार्की र सपना मल्ल प्रधानको इजलासले पूर्वराजा वीरेन्द्र शाहको परिवारको सम्पत्ति भएको उल्लेख गर्दै सो सम्पत्ति नेपाल ट्रष्टको भएको फैसला गरेको थियो ।

आफ्नो दाइजो भएको दाबी गर्दै सो फैसलामा चित नबुझेपछि प्रेरणाले सर्वोच्च अदालतमा पुनः पुनरावलोकन निवेदन दायर गरेकी थिइन् ।

अदालतले विपक्षीलाई आवश्यक कागजात झिकाउन आदेश दिएपछि त्यस विषयमा पुनः सुनुवाइ हुने भएको छ । रासस

 
 
 
 
 
प्रकाशित मिति: : 2019-07-06 09:05:55

प्रतिकृया दिनुहोस्