काठमाडौं ।
मुलुकमा भएको दश वर्षे सशस्त्र द्वन्द्वका पीडित पक्षको दुःख र वेदनासहितको फोटो प्रदर्शनी बिहिबारदेखि राजधानीमा सुरू भएको छ।
बबरमहलस्थित आर्ट काउन्सिलमा एक सातासम्म चल्ने प्रर्दशनीको आज राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले उद्घाछन गरेका छन्।
प्रदर्शनिमा सशस्त्र द्वन्द्वमा आफन्त तथा परिवार गुमाएका व्यक्तिको अवस्थालाई लिएर तयार पारीएको वृत्तचित्र समेत प्रदर्शन गरिएको थियो।
करिब १५ मिनेट समय अवधिको वृत्तचित्रमा विभिन्न जिल्लाका पीडितले वर्षौदेखि भोगेका दुःख तथा न्याय प्राप्तिका लागि गरेका अपेक्षालाई प्रस्तुत गरिएको थियो ।
उक्त वृत्तचित्रको शुभारम्भ गर्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले निकै भावुक हुँदै न्याय सम्पादन गर्ने स्थानमा राजनीतिक भागबण्डा गर्न नहुने बताए।
उनले सत्य निरुपण तथा मेल मिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको नेतृत्व र पदाधिकारीमा सक्षम र योग्य मानिसको छनौट गर्नुपर्नेमा जोड दिए।
मञ्चका अध्यक्ष वरिष्ठ अधिवक्ता मिरा ढुङ्गानाले विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष भन्दा पनि लामो समय भएको भए पनि पीडतले अझै न्यायको अनुभूति गर्न नपाउनु लज्जास्पद भएको बताइन्।
मञ्चका कार्यकारी निर्देशक सवीन श्रेष्ठले समयमा न्याय नपाउनु पनि अन्याय नै भएको बताउँदै ठूला दलले जनताका लागि राजनीतिक व्यवस्था परिवर्तन गरेका कारण उनीहरुले पीडित जनताको भावनालाई सम्बोधन गरी न्यायको अनुभूति दिलाउनुपर्ने बताए।
तत्कालीन राज्य तथा द्वन्द्वरत दुबै पक्षबाट पीडा भोगका नागरिकको न्यायको माग गर्दै ‘न्यायको प्रतिक्षा’ को विषयमा शैली थिएटरका कलाकारले नाटक मञ्चन गरेका थिए।
द्वन्द्व पीडितको अवस्थालाई तस्वीरमार्फत प्रस्तुत गर्ने उद्देश्यले फोटो प्रदर्शनी गरिएको छ ।
द्वन्द्वका क्रममा पीडित नागरिकले पाएका दुःखलाई प्रदर्शनीमा देखाइएको छ। उक्त प्रदर्शनी असार २५ गते सम्म चल्नेछ।
प्रदर्शनी हेर्न पीडितका आफन्त, सर्वसाधारण, विभिन्न मुलुकका कुटनीतिक नियोगका पदाधिकारीलगायतको सहभागिता छ।