‘नमस्ते, आई एम केइको यमनका’ कोरियाका सोलस्थित मुटुमा पर्ने मिनी नेपाल दोङ्गदेमुनको ३ नम्बर गेटमा अलिपरबाट देख्ने बित्तिकै नेपाल र नेपाली संस्कृतिसँग राम्रै भिजेकी उनी मुस्कुराउँदै हात मिलाउन आईन्।
ईपिएसमार्फत कोरिया आएका नेपालीको विषयमा तथ्याङ्क संकलन गर्न आएकी जापानी डाक्टर कइकोसँग नजिकैको नेपाली रेष्टुरेन्टमा खाना खादै कुरा गर्न अनुरोध गरेँ।
रेष्टुरेन्टमा पस्ने वित्तिकै उनले भनिन्,‘म त मःमः खान्छु।’
उनको मःमः प्रतिको लगाव देखेर म छक्क परेँ।
उनीसँगै आएकी कोरियन साथीले पनि मःमः नै रोजिन्। मेरो पनि सदावहार फेवरेट मःमः भईहाल्यो।
सँगै बसेका एक नेपालीले कानेखुसी गरे,‘उनले घाँटीमा लगाएको नेपाली पोते जस्तो पो छ त?’
मैले सोधिहालेँ,‘ओहो! कस्तो नेपालीले जस्तै पोते लगाउनु भा’को नि!’
उनले नेपाल गएको बेला असनबजारमा पोते नै पोते देखेपछि साह्रै मन परेर किनेको बताईन्।
‘मलाई नेपाली संस्कृति एकदमै मनपर्छ त्यसकै सम्मानको लागि पोते लगाएकी हुँ,’ उनले थपिन्।
‘तपाइँलाई त नेपालको संस्कृति खानपान सबै थाहा रहेछ’, मैले थपे। नेपालको ठूलो बजार न्यूरोड घुम्न जाँदा नेपालको प्रचलित खानेकुरा मःमः भन्ने थाहा पाएँ अनि त्यसपछि त नेपाली खाना भन्ने बित्तिकै जिब्रोमा मःम नै झुन्डिन्छ।’
धेरै पटक काठमाडौं र पोखरा घुम्न भ्याईसेकेकी उनलाई नेपाली कामदारको बारेमा अनुसन्धान गर्न प्रेरित गर्नुको कारण सुन्दा भावुक भएँ।
‘नेपाली विरताको प्रतिक हुन्’ भनेर बाल्यकालदेखि नै सुन्दै आएकी उनलाई आफ्नो देश जापानमा सन् १९८० को दशक पछि नेपाली युवा रोजगारीको लागि भन्दै जापान जाने क्रम बढेको र गैरकानुनी रुपमा बसोबास गर्ने नेपालीले जापानमा भोगेका समस्या प्रत्यक्ष देखेपछि असाध्यै पेट पोलेछ।
जापानमा मात्र नभएर नेपालीले खाडी मुलुकलगायत मलेसिया तथा ईजरायलजस्ता देशमा बैदेशिक रोजगार प्रवर्धन बोर्ड नै बनाएर आफ्ना नागरिक पठाएको देखेपछि ‘ग्लोवल वारियार्स टु ग्लोवल वर्कस’ भनेर अनुसन्धान गर्न मन लागेको उनले बताईन्।
वीर गोर्खालीको रूपमा बेलायती र ईन्डियन शैन्य बलमा पहुँच पाएका नेपालीको अहिले वीरताको छवि विस्तारै कम हुँदै गएको र अदक्ष कामदारहरु निर्यात गर्ने देशको रुपमा विश्वले नेपाललाई चिन्दै गएको प्रति उनले चिन्ता व्यक्त गरिन्।
हामीसँगको कुराकानीका क्रममा भेटिएका नेपालीसँगको कुराकानिलाई विश्लेषण गर्दै उनले थपिन्,‘तल्लो स्तरको काम भए पनि बिना शोषण समयमा तलव बुझेर भेदभाव रहित वातावरणमा काम गर्न पाए अलिकति भए पनि राहत मिल्ने थियो।
वीर हुनुमा नेपाल सरकारको कमजोर कुटनीतिक क्षमता र नेपालको भष्ट्र राजनीति प्रमुख रहेकोसमेत भन्न भ्याईन्।