सोल ।
१० वर्षको उमेरमा प्लेन हेर्न टिकट काटेर त्रिभुवन विमानस्थल पुगेका राजिव सिटौला अहिले आफैं प्लेन उडाएर आकाशमा डुल्ने भएकाछन्।
नुवाकोटको भद्रेटार स्थायी घर भएका सिटौंला १० वर्षको उमेरमा वुवालाई कर गरेर प्लेन हेर्न त्रिभुवन विमानस्थल गएको सम्झदै भन्छन्,‘विमानस्थलमा पैसा तिरेर टिकेट किनेपछि धित मर्ने गरी प्लेन हेरेर घर फर्किएँ।’
राजिव अहिले अमेरिकन आर्मीको एभियसन युनिट अन्तर्गत रहेर प्लेन उडाउने काम गर्छन्। अमेरिका जाँदा मात्र पहिलो पटक प्लेन चढेका राजिवलाई आफैं पाईलट बनौंला भन्ने कल्पनासम्म थिएन।
उनको परिवारमा आमा वुवा र एक भाई छन्। भाई पनि पाईलट पेशामै रहेका उनले बताए।
‘कहिले काँही प्लेन उडाईराख्दा आफू टिकट काटेर प्लेन हेर्ने गएको दिन याद आउँछ र एक्लै मरिमरी हाँस्छु,’ उनले भने।
पहिलो पटक प्लेन चढ्दा निकै डराएका राजिव अहिले सहजै प्लेन उडाउँछन्। तर, कहिले काहिँ मौसममा खराबी हुँदा के गर्ने होला भनेर केही डर लाग्ने उनको अनुभव छ।
काठमाडौंको आनन्दकुटीबाट एसएलसी गरेका राजिवलाई सानोमा शिक्षकले के बन्ने भनेर सोध्दा ठाँटिएर डाक्टर बन्ने भनेको सम्झना ताजै छ।
‘सबै साथीले कि, डाक्टर कि ईन्जिनियर भन्थे, म पनि त्यहिँ नै सबैभन्दा ठूलो राम्रो काम होला भन्ने सोचेर त्यही भन्थेँ,’ उनले बिएल नेपालीसँग भने।
प्लस टुको पढाई नेपालमै सकेपछि राजिव अमेरिका गए।
‘अमेरिकाको व्यस्त जीवन त्यसमा पनि नेपालजस्तो बिना पैसामा रमाईलो हुन्न। रमाईलोका लागि पैसा तिर्नुपर्छ त्यसैले पढ्दै काम गर्दै मैले आफ्नो व्याचलरको पढाई पुरा गरेँ,’ उनले भने।
व्याचलर सकेपछि अमेरिकन आर्मीमा आवेदन दिए।
सुरूमा १२ हप्ताको बेसीक कम्व्याक्ट तालिम लिए र अर्को ६ महिनाको एडभान्स कोर्सपछि आर्मीकै हेलिकप्टरको पार्टस् बनाउने काममा लागे।
काम गर्दा गर्दै उनको आर्मीका धेरै स्टाफसँग राम्रो चिनजान भयो। सवैले तिमी पाईलट बन्नुपर्छ भन्दै हौसला दिए। त्यसपछि राजिव सन् २०१६ मा आर्मी पाईलट स्कुलमा भर्ना भएर २०१७ को मार्चतिर उनी ग्रयाजुएट भए।
साढे दुई वर्ष यता राजिव निरन्तर प्लेन उडाउने काममा व्यस्त छन्।
व्याचलर सकिने बित्तिकै नेपालमै गएर केही गर्छु भन्ने सोच बनाएका राजिव अमेरीकामै रमाउन थाले।
‘व्याचलर सकेपछि मैले नेपालमा काम खोज्न थालेँ, तर मेरो क्षमता भन्दा पनि कुन पार्टीको हो? भन्ने प्रश्न गर्न थालेपछि मलाई नेपाल बस्न मन लागेन,’ उनले दुखेसो पोखे।
‘नेपालमा मेरो क्षमता र मेरो क्यारियर स्थापित गर्ने आधार कांग्रेस, एमाले कि, माओवादी पार्टी भनेर छुट्टयाउन थालेपछि देशमै केही गर्छु भन्ने सोच बनाएर आएको मेरो मनमा नमिठो ठेस लाग्यो,’ उनले भने।
‘मेरो परिवार जुन पार्टीको राजनीति गरे पनि म जस्तो योङ जेनेरेसनको सोच अलग हुनसक्छ। तर, मलाई मेरो परिवारको राजनीतिक पृष्ठभूमि हेरेर जागिर पाउने/नपाउने सर्टिफिकेट जस्तो बन्न पुग्छ भने वर्षौ मेहनत गरेर पढेको पढाईको अर्थ नै के रह्यो र? भन्दै म पुनः अमेरिका फर्किएँ र आर्मीमा ज्वाईन भएँ,’ उनले पीडा पोखे।
राजिवको विचारमा नेपालका अधिकांश युवाहरू देशको राजनीतिक खिचातानीले विदेशिन बाध्य भएका छन्।
‘मलाई लाग्छ हाम्रो देशका हजारौं युवा देशको यही नियतिले गर्दा चाहेर पनि आफ्नो देश फर्कन सकेका छैनन्। रोजगारीका क्षेत्रहरु पार्टीका कार्यकर्ता भर्ती केन्द्र बनाईनु र जनताले पनि सधैं उही पुरानो सोच भएका नेतालाई मात्र भोट दिएर नयाँ सोचका साथ अगाडि बढेको नयाँ पार्टीलाई भोट नदिनुले गर्दा सधै एउटै सोचको मानिसहरुको कब्जामा देश बन्धक हुन पुग्यो र त्यसको सजाय हामी जस्ता युवाहरुले भोग्नु परेको छ,’ उनले भने।
देश बनाउने हो भने पार्टीको झण्डा हैन देशको झण्डा बोकेर सबै अगाडि आउनुपर्ने उनको सुझाव छ।
जब उनी प्लेन उडाइरहेका हुन्छन् कतै डाँडाकाँडा देखिने बित्तिकै नेपाल अनि आफ्नो गाउँको असाध्यै याद आउने बताए।
कोरियाको एक वर्षे पोष्टिङको अन्तिम दिन अमेरिका फर्कने क्रममा रहेका उनले बिएलसँग भने,‘मलाई विश्वकै सबैभन्दा डेन्जर एअरपोर्ट भनेर चिनिने तेन्जिङ हिलारी एअरपोर्ट अर्थात लुक्ला एअरपोर्टमा गएर प्लेन उडाउन असाध्यै रहर छ, हेरौं कहिले पुरा हुन्छ।’