चिनियाँ टोलीद्वारा पेट्रोलियम अन्वेषण सुरु

तस्बिरः एजेन्सी

चिनियाँ टोलीद्वारा दैलेखमा रहेको पेट्रोलियम पदार्थको अन्वेषण सुरु गरिएको छ। चीन सरकारको चाइना जियोलोजिकल सर्भे र खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् ट्यान फुएन नेतृत्वको टोलीले सोमबारदेखि काम सुरु गरेको छ ।

टोलीले श्रीस्थान, नाविस्थान, धुलेश्वर, पादुका र कोटिलाको अवलोकन गरिसकेको छ । भूगर्भविद् फुएनले श्रीस्थानमा पेट्रोलियम पदार्थ हुन सक्ने सम्भावनाको अन्वेषण निकै अघिदेखि गरिएको भए पनि पनि अरु सम्भाव्य स्थानमा यस पटक थप अध्ययन गरिने बताए ।

चिनियाँ टोलीसँगै आइबार दैलेख पुगेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले अन्वेषणलगत्तै उत्खननको काम सुरु गरिने बताए । उनका अनुसार चिनियाँ टोली केही साता दैलेखमै बसेर अन्वेषणको काम गर्नेछ र उक्त टोलीको परिणामका आधारमा उत्खननको कार्य अगाडि बढाइने छ ।

खानी तथा भूगर्भ विभागका पेट्रोलियम परियोजना प्रमुख सुधीर रजौरेका अनुसार जमिनको ५ देखि २० किलोमिटर सतहमुनिको बनावटको अध्ययन गरेपछि पेट्रोलियम पदार्थ संरचना पत्ता लगाउन सकिनेछ । विभागको यसअघिको सर्वेक्षणले दैखेखमा पेट्रोलियम पदार्थ रहेको प्रमाणित गरिसकेको छ ।

विभागका अनुसार दोस्रो चरणमा स्यास्ट्रिक सर्भे गरिनेछ। उक्त सर्भेमा जमिनमुनि कम्पनको तरंग पठाएर ड्रिलिङ गरिन्छ। रजौरेका भन्छन्, ‘यो सर्भेबाट जमिनमुनि पेट्रोलियम पदार्थको भण्डारण कहाँ छ भनेर पत्ता लाग्छ । यसपछि पेट्रोलियम पदार्थ कति मात्रामा छ र आर्थिक रूपमा उत्खनन्योग्य हुन्छ छ, छैन थाहा हुनेछ ।’

विभाले प्रमाणित गरेको १३ वर्षपछि अन्वेषण गर्न लागिएको हो । यसअघि प्रथम पटक केपी ओली प्रधानमन्त्री हुँदा २०७२ मंसिर २१ गते तत्कालीन सरकारका उद्योगमन्त्री सोमप्रसाद पाण्डेसहितको टोलीले शिरिस्थानमा पेट्रोलियम पदार्थ उत्खनन् गर्ने घोषणा गरेपछि ०७२ चैतमा चिनियाँ विशेषज्ञ टोलीले प्रारम्भिक अनुसन्धान गरेको थियो । २०१८ फेब्रअरी २८ मा नेपाल र चीन सरकारबीच पेट्रोलियम पदार्थको अन्वेषण गर्ने सम्झौता भएको थियो।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पेट्रोलियम पदार्थ उत्खनन कार्यले कर्णाली प्रदेशलाई समृद्ध बनाउन भूमिका खेल्ने बताए । उनले थपे ‘पेट्रोलीयम पदार्थको उत्खननले राष्ट्रिय अर्थतन्त्रको सम्भावना भित्र्याउनु हो।’

पूर्व उद्योगमन्त्री पाण्डे र प्रतिनिधिसभा सदस्य रवीन्द्र शर्माले पेट्रोलियम पदार्थको उत्खननले कर्णालीको भाग्य खुलेको  बताए । दुल्लु नगरपालिका प्रमुख घनश्याम भण्डारीले  पेट्रोलियम पदार्थको उत्खननसँगै पञ्चकोसी क्षेत्रको धार्मिक महत्त्वलाई मासिन नदिन सचेत रहुनपर्ने बारे चिन्ता गरे ।

प्रकाशित मिति: : 2019-07-03 17:37:23

प्रतिकृया दिनुहोस्