बाघको जुँगा उखेल्नेलाई पाँच लाख जरिवाना

तस्बिरः दीपक राजबंशी

मरेको बाघको जुँगा उखेल्नुलाई परम्परागत नेपाली समाजमा पुरुषार्थ मानिँदैन। तर, वातावरण सचेत आधुनिक राज्यमा त्यो विषय महङ्गो पर्छ । बर्दिया जिल्ला अदालतले हालैको आफ्नो फैसलामा यसको पुष्टि गरिएको छ ।

 गेरुवा गाउँपालिका–४ शान्तिपुर धकनिया निवासी सुन्दरलाल चौधरीले मरेको बाघको जुँगा उखलेर घरमा लुकाएको आरोपमा पाँच लाख जरिवाना तिर्नुपरेको छ। उनलाई बाघ मारेको आरोपसमेत लगाई पक्राउ गरिएको थियो । तर बाघ मारेको प्रमाण फेला नपरेपछि जिल्ला अदालतले बाघको जुँगा उखेली घरमा लुकाएको अभियोगमा पाँच लाख जरिवाना तिर्न लगाई रिहा गरिदिएको छ ।

 बर्दिया जिल्ला अदालतका मुख्य न्यायाधीश किरणकुमार पोखरेलको इजलासले बाघ मारेको आरोपमा पक्राउ परेका चौधरीलाई पाँच लाख जरिवाना तिराएको हो । फैसलामा अभियुक्त चौधरीले गत पुस २८ गते बाघको जुँगा उखेलेर घरमा लुकाई राखेको प्रमाण फेला परेको र बाघको जुँगा घरमा राख्नु गैरकानूनी भएको उल्लेख गर्दै उक्त जरिवाना तोकिएको हो।

वन्यजन्तु मारेको र अङ्ग ओसारपसारमा संलग्न अभियुक्तलाई रु पाँचदेखि १५ लाखसम्म जरिवाना हुने कानूनी प्रावधान छ ।

प्रकाशित मिति: : 2019-07-03 10:56:21

प्रतिकृया दिनुहोस्