‘धेरै डलर कमाउन होइन, नेपाली भाषा जोगाउन खट्छौं’

तस्बिरः बिएल

क्यानडाका नेपाली भाषा शिक्षक थोरै डलरमा धेरै मेहनत गर्दै नेपालीमूलका नानीबाबुलाई ‘कखरा’ सिकाउँछन्। मूख्य काम अरु नै गर्ने उनीहरु सप्ताहन्तमा एक दिन नेपालीमूलका नानीबाबुलाई मातृभाषा लेखपढ गराउँछन्। खटाईको तुलनामा उनीहरुको पारिश्रमिक न्युन छ।

सबैभन्दा ठूलो शहर टोरन्टोसहित अटोवा, मन्ट्रियल, अल्वर्टा, क्याल्गेरी, भ्यान्कुभर, सर्रीलगायतका सहरमा बस्ने नेपालीमूलका नानीबाबुलाई नेपालीमूलकै शिक्षकले सप्ताहन्तमा पढाउने व्यवस्था छ। एनआरएनए क्यानडाका अनुसार, क्यानडामा अहिले यसरी एक दर्जनभन्दा बढी कक्षा चलिरहेका छन्।

‘छुट्टीका दिन अढाई घण्टाको कक्षा लिनुपर्छ तर तयारी पहिल्यैदेखि गर्नुपर्दा सजिलो हुँदैन’ ब्राम्पटन सेन्टेनियल स्कुलमा हरेक शनिवार नेपाली भाषा शिक्षक टिकाराम पौडेल भन्छन्, ‘घरबाट आउँदा जाँदा, पाठ्यक्रम र पाठ्यसामग्री जुटाउँदा, कक्षाको तयारी गर्दा र नानीबाबुलाई अभिभावकको जिम्मा लगाउँदा आधा दिन बित्छ।’

त्यसरी अढाई घण्टाको कक्षाका लागि आधा दिन बिते पनि पौडेलजस्ता भाषा शिक्षकले कक्षा अवधिको मात्र पारिश्रमिक पाउँछन्, जसले हप्ताभर कुदाउने गाडीको ग्यास खर्च पनि पर्याप्त नहुनसक्छ। तैपनि सन्तुष्ट देखिएका पौडेल थप्छन्, ‘थोरै रकम हात पर्ने गरी नेपाली पढाउँदा मेहनत र समय बिते पनि खुसी लाग्दोरहेछ।’

सम्बन्धित क्षेत्रको क्यानेडियन शैक्षिक बोर्डले नेपालीसहित विभिन्न भाषाका शिक्षकलाई कक्षा अवधिभरको समय ९घण्टा० जोडेर पारिश्रमिक उपलव्ध गराउँछ। हिन्दी, उर्दु, अरबी, पञ्जावी, चिनियाँसहित दुई दर्जनभन्दा बढी भाषामा यस्ता कक्षा हुने गर्छन्। ती सबै भाषाका शिक्षकलाई उसैगरी कक्षा अवधिको पारिश्रमिक दिइन्छ।

टोरन्टोकै गुएल्फस्थित सेन्ट फ्रान्सिस् अफ् एसिसी क्याथोलिक स्कुलमा सप्ताहन्तमा नेपाली कक्षा पढाउने निभा श्रेष्ठको अवस्था पनि उस्तै छ। त्यसक्षेत्रका आधा दर्जन नानीबाबुलाई नेपाली चाडपर्व, कला, संस्कृति, नदीनाला, हिमाल, पर्वत, जातजाति आदिबारे जानकारी दिँदै कक्षा लिने उनी पनि कक्षा अवधिभरकै पारिश्रमिक पाउँछिन्।

‘तयारी र मेहनतअनुसारको पारिश्रमिक त हुन्न तर आफूले जानेकोकुरा नानीबाबुलाई सिकाउँदै उनीहरुले नेपालीमा बोलेको लेखेको देख्दा केही त गर्न सकें भन्ने प्रकारको गर्व अनुभव हुँदोरहेछ‘ श्रेष्ठले अनुभव सुनाइन्, ‘विद्यालयमा साँस्कृतिक कार्यक्रम हुँदा आफूले पढाउने नानीबाबुलाई नेपाली संस्कृति झल्कने पहिरन र श्रृंगारमा प्रस्तुत गर्दा झनै गर्व लाग्छ।’

बार्षिक क्यालेन्डरअनुसार अहिले छुट्टी भए पनि क्यानडाका १० शहरमा नेपाली कक्षा सञ्चालनमा छन्। सेप्टेम्बरदेखि ती फेरि सञ्चालन हुन्छन्। जहाँ नेपालीमूलका बालबालिका खाजाका रुपमा पिज्जालगायत क्यानेडियन परिकार खाँदै ‘कखरा’ सिक्दै हुन्छन्। ‘देशअनुसारको भेष’ भने झैं बुवा पुस्ताले पढ्दा खाने मकै भट्मासको खाजा यता पिज्जामा बदलिएको छ।

‘खाजाका रुपमा पिज्जा या अरु परिकार दिँदा बालबालिका नेपाली कक्षामा जान अल्छी गर्दैनन्’ अभिभावकहरु भन्छन्,‘घरमा खान नपाएर होइन, आफ्नै उमेरका केटाकेटीसँग खेल्दै पढ्दै खाँदा रमाइलो हुने भएकाले पिज्जामा हत्ते हाल्छन्।’ क्यानडामा अहिले झण्डै ४० हजार नेपाली बसोबास गरेको मानिन्छ।

नेपालीहरु जसरी विभिन्न सहरमा छरिएर बसेका छन्, नेपाली कक्षा पनि उनीहरुकै बाहुल्य भएको सहरमा चलाइएको छ। कक्षा चलेका दिन अभिभावकले पालो मिलाएर पिज्जा या अन्य खाजा पुर्याउँछन्। शिक्षकको पारिश्रमिक स्थानीय शैक्षिक बोर्डले र कक्षा कोठा सम्बन्धित विद्यालयले उपलब्ध गराउँदा नेपाली अभिभावकले खाजा र पाठ्यसामग्रीमा मात्र खर्च गरे पुग्छ।

कामको चापले अभिभावकलाई फुर्सद नहुने र अँग्रेजी भाषाको प्रभावले नेपाली नजान्ने या बिर्संदै जाने अवश्था नआओस् भनेर नेपाली कक्षा चलाइएका हुन्। साताका पाँच दिन क्यानेडिन स्कुल जाने नेपालीमूलका बालबालिका सप्ताहन्तमा नेपाली कक्षा जान्छन्, जहाँ अढाई घण्टा लेखपढका अतिरिक्ति ‘नेपाल चिनाउने’ तरिकाले पढाइन्छ।

प्रायः १० महिनामा ३२ कक्षा हुने गरी नानीबाबुलाई नेपाली पढाइन्छ। सुरुमा नेपालीका घर–घर धाएर अभिभावकलाई सहमत गराई बालबालिकालाई नेपाली कक्षामा सहभागी गराएको अभिभावकमध्येका एक दिनेश खतिवडा सम्झिन्छन्। नौ बर्षदेखि क्यानडा बस्दै आएका खतिवडाका दुई छोरा छन्। उनीहरु पनि नेपाली कक्षामा नियमित जान्छन्।

क्यानडा बहुसांस्कृतिक मुलुक हो। यहाँ संसारका सबैजसो मुलुकका थोरबहुत नागरिक आप्रवासीका रुपमा छन्। क्यानाडा सरकारले उनीहरुका लागि आफ्नो मातृभाषामा शिक्षा लिन पर्याप्त बजेट छुट्याउँछ। त्यसक्रममा स्कुल बोर्डहरु मार्फत यस्ता कक्षाका लागि शिक्षकको पारिश्रमिक उपलव्ध हुन्छ। अँग्रेजी मात्रै बोल्ने बालबालिकालाई नियमित कक्षामा अभ्यास गराउँदै नेपाली शब्द मिसाएर बोल्न सक्ने बनाउनु शिक्षकको मेहनतको उपलब्धि हो।

कतिपयभ अभिभावक भने ‘अँग्रेजी फस्ट’ मान्यता राख्दै ‘छोराछोरीले नेपाली नजाने नि फरक नपर्ने’ मान्यता राख्छन्। उनीहरु आफ्ना सन्तानले फरर अँग्रेजी बोलेकैमा खुसी हुन्छन्। बहुसंख्यकको चिन्ता चाहिँ आफ्ना सन्तानले अँग्रेजीसँगै नेपाली भाषामा पनि बोल्न र लेख्न जानुन् भन्ने छ। फलस्वरुप, बर्षैपिच्छे नयाँ ठाउँमा यस्ता नेपाली कक्षा चल्न थालेका छन्। 

प्रकाशित मिति: : 2019-07-02 21:45:51

प्रतिकृया दिनुहोस्