सिंजा गाउँपालिकामा लगातार ३ दिन विद्यालय बन्द हुँदा झन्डै ४ हजार विद्यार्थीको भविष्य अन्यौलमा परेको छ।
नीजि श्रोतका शिक्षकहरू तलब नपाएको आरोप लगाउँदै आइतबारदेखि आन्दोलनरत छन्। शिक्षकको आन्दोलनका कारण सिंजा गाउँपालिकाको २२ विद्यालय पूर्णरुपमा खुला हुन सकेको छैन।
शिक्षा विकाश तथा सम्वन्य इकाइ प्रमुख मकर भण्डारीले ब्रेक एन लिंक्ससँग तेस्रो दिनबाट सम्पूर्ण विद्यालय सञ्चालनमा आएको दावी गरे पनि स्थिति उनले भने जस्तो छैन।
ब्रेक एन लिंक्सको फलोअपमा थुप्रै विद्यालय बन्द भएको पाइएको छ।
सिंजा गाउँपालिका वडा नम्बर ५ मा रहेको कालिका आधारभूत विद्यालय मंगलबार दिनभरी बन्द थियो।
विद्यालयका प्रधानाध्यापक लालबहादुर रोकायाले वडाका सबै विद्यालय बन्द भएको बताए।
‘बैठक बसेर विद्यालय खुलाउने प्रयास गरेका थियौं तर सकिएन्,’ रोकायाले भने। उनले आफ्नो विद्यालयमा ४ जना नीजि श्रोतका शिक्षक कार्यरत रहेको र श्रोत व्यवस्थापन गर्न नसक्दा समस्या भएको बताए। ‘गाउँपालिकाले केही सहयोग गरेको भए सजिलो हुने थियो,’ उनले भने।
खुलेको विद्यालयमा पनि पठनपाठन सुचारु हुन नसकेको आन्दोलनकारी शिक्षक मिनेश खत्री बताउँछन्। उनले आफ्नो मागप्रति सरोकारवाला पक्ष गम्भीर नभएको आरोप लगाए।
उनले भने, ‘६ महिनादेखि १ वर्षसम्म भोको पेट काम गरेका छौं । तलब माग्दा स्रोत नभएको र विद्यालयले स्रोतको व्यवस्था नहुन्जेल काम गरिरहन भनेर शोषण गरेको कारण बाध्य भएर आन्दोलन थालेका हौं।’
आगामी आर्थिक वर्षका लागि भनेर गाउँपालिकाले सबै विद्यालयलाई २५ लाख बजेट छुट्याएको थियो।
तर, त्यो बजेट तलबको रुपमा बाड्न नमिल्ने, विद्यालयले कार्यक्रम लिएर आउनुपर्ने गाउँपालिका स्रोतले बताएको छ।
२२ वटा विद्यालय एकैसाथ बन्द हुनु दुखद पक्ष भएको प्रतिनिधि सभा सदस्य गजेन्द्रबहादुर महत कार्माले ब्रेक एन लिंक्सलाई बताए।
उनले भने, ‘न्यून तलबमा काम गरिरहेको नीजि स्रोतका शिक्षकहरुको समस्या विद्यालय व्यवस्थापन समितिले, नभए गाउँपालिकाले तत्काल समाधान गर्नुपर्ने हो। यसमा सम्बन्धित निकायको सक्रियता देखिनुपर्ने हो ।’
शिक्षा, स्वास्थ तथा खेलकुद समितिको सदस्य रहेका सांसद महतका अनुसार सरकारले धमाधम नयाँ विद्यालय खोल्ने अनुमति दिने तर शिक्षक दरबन्दी नथप्ने भएकाले यस्ता समस्या आउने गरेको बताए।