पर्याप्त मात्रामा सिँचाइ अभाव तथा पानी नपरेका कारण बारा, पर्सा र रौतहटका किसानले हालसम्म धानको बेर्ना राख्न नपाउँदा मानो रोपेर मुरी फलाउने समय यसपालि अधुरै रहने चिन्ता व्यक्त गरेका छन्।
“अन्नको भण्डारका रुपमा चिनिएका बारा, पर्सा तथा रौतहटका किसानका लागि जीवनरेखा मानिएको गण्डक नहरमा पानी नआउँदा उनीहरुले धानको बेर्नासमेत लगाउन सकिएको छैन”, पर्सा जगरनाथपुरका किसान हरिदेवले भने, “आकाशे पानीको भरमा थोरै बीउ लगाइएको भए पनि अत्यधिक गर्मीका कारण पानीको अभावमा त्यो पनि डढ्न थालेको हो।”
केही दिनयता मनसुन सक्रिय भई फाटफुट पानी परे पनि पर्याप्त मात्रामा सिँचाइको अभाव हुँदा सोचे जति धानको बेर्ना लगाउन नसकिएको गुनासो अर्का किसान मनोज साह कानुको छ। “अत्यधिक गर्मीको कारण लगाएको धानको बेर्ना डढी सकेको छ भने अर्कोतिर पर्याप्त पानीको अभावका कारण थोरै मात्रामा दोस्रो पटक बेर्ना लगाएको हो”, उनले भने।
पर्सामा ४६ हजार हेक्टर, बारामा ६० हजार ४३० हेक्टर तथा रौतहटमा ३८ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । पानीको अभावमा यस वर्ष पर्सा, बारा, रौतहट जिल्लामा हालसम्म २० प्रतिशत मात्र धानको बीउ राख्न सकिएको कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ। गण्डक नहरमा समयमा पानी न आउँदा यो वर्ष धान उत्पादनमा कमी आउने अनुमान केन्द्रको छ।
भारतीय पक्षले गण्डक नहरमा समयमा पानी न छोड्दा पर्सा, बारा र रौतहटका किसानले साना सिँचाइ खोलाको पानी सदुपयोग गरी धानको बेर्ना लगाएको देखिन्छन्। गण्डक नहरबाट यी तीन जिल्लाका ३७ हजार हेक्टर क्षेत्रफल सञ्चित हुने गरिन्छ तर अत्यधिक गर्मीका कारण पानीको मुहान सुक्न थालेपछि लगाएको धानको बेर्ना पानीका अभावमा सुक्न थालेकोमा किसान शेषमन पण्डितले चिन्ता व्यक्त गरे।
नेपालतर्फ ८१ किलोमिटर लामो गण्डक नहरको चार दशकको इतिहासमा पहिलो पटक दुई वर्ष अघि साउन अन्तिम सातामा आएको बाढीले क्षति पु¥याउँदा त्यसबेला पानीको अभावमा तीनवटै जिल्लाका ७६ हजार ५०० हेक्टर क्षेत्रफलमा लगाइएको गहुँखेती प्रभावित भएको थियो।
भारतीय भूमि हँुदै गण्डक नहरको पानी पश्चिमी पर्साको जानकी टोलमा प्रवेश गरी बारा, पर्सा र रौतहटको वाग्मती नदीमा गएर मिसिन्छ। नेपाल भारतबीच भएको गण्डक सम्झौताअनुसार भारत सरकारले नेपालतर्फ रहेको गण्डक नदीमा ८५० क्युसेक पानी छोडनुपर्ने हुन्छ तर भारतीय पक्षले नहरमा सम्झौताअनुसार पानी नछोड्ने गरेको गुनासो किसानको छ।
अन्नको भण्डार मानिने मध्य तराईका यस तीन वटा जिल्लामा पानीको अभावमा पर्याप्त मात्रामा उत्पादन हुन नसक्दा भारतीय अन्नमाथिको परनिर्भता बढ्दै गएको छ। उर्बराभूमि, पर्याप्त जनशतिm र सिँचाइको ठूलो स्रोत हुँदाहुँदै पनि पानीको अभावमा समयमा धान रोपाइँ हुन नसक्दा कृषिमा परनिर्भता बढ्दै गएको छ।
सरकारले आर्थिक समृद्धिका लागि कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको भए पनि समयमा पानी नपर्दा तथा गण्डक नहरमा पनि पानी नहुँदा यस भेगका किसानलाई मानो रोपेर मुरी फलाउने काम सपनाजस्तो भएको छ।