भारतको व्यापारिक शहर मुम्बईमा केही दिनदेखि परिरहेको बर्षाका कारण २४ घण्टा भित्र ३२ जनाले ज्यान गुमाइसकेका छन्। मंगलबार महाराष्ट्रको मुम्बई, कल्याण, ठाणे र पूणेमा आएको वर्षाका कारण राज्य सरकारले हाई–अलर्ट जारी गरेको छ। मृत्यु हुनेमा मुम्बईबाट २०, पूणेबाट ६, कल्याण र नासिकबाट ३–३ जना छन्।
महाराष्ट्रमा पाँच दिनदेखि पानी परिरहेको छ। मौसम विभागका अनुसार १० वर्षयता यति ठूलो परिमाणमा पानी परेको थिएन। दुई दिनमा मात्र २१ इन्ची पानी परिसकेको बताइएको छ। बर्षाका कारण महाराष्ट्रको धेरै ठाउँमा ६ फिटसम्म पानी भरिएको छ।
सरकारले मंगलबार स्कुल, कलेज तथा कार्यालय बन्द गर्ने घोषणा गरेको छ। बाक्लो पानी परेका कारण मुम्बई विमानस्थलमा सोमबार स्पाइस जेटको विमान रनवेबाट बाहिर चिप्लिएको थियो। सरकारले रनवे पनि बन्द गर्ने निर्णय गरेको छ। आजसम्म ५५ वटा उडानको रुट डाइभर्ट गरिएको छ। ५२ उडान रद्द भएको छ। मुम्बईमा उद्दारका लागि नेभीको टिम परिचालन गरिएको छ।
मुम्बईको मलाड इस्टस्थित पिम्परीपाडामा राती पर्खाल खसेर १८ जनाले ज्यान गुमाएका थिए। घटनामा ६० जना घाइते भएको जनाइएको छ। सरकारले घटनामा निधन हुने परिवारलाई ५ लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ।