नेपालमा ९ लाख २३ हजार प्रतिष्ठान सञ्चालनमा

राष्ट्रिय योजना आयोग केन्द्रीय तथ्याङ्क विभागको प्रथम राष्ट्रिय आर्थिक गणना २०७५ को नतिजा सार्वजनिक गर्दै राष्ट्रिय योजना आयोग उपाक्ष्यक्ष डा पुष्पराज कडेललगायत । तस्वीर– रोशन सापकोटा

केन्द्रीय तथ्याङ्क विभागले प्रथम राष्ट्रिय गणना २०७५ को नतिजा सोमबार सार्वजनिक गरेको छ । नतिजाअनुसार मुलुकभर ९ लाख २३ हजार ३ सय ५६ प्रतिष्ठान सञ्चालनमा रहेका छन् । त्यसमध्ये ४ लाख ६२ हजार ६ सय ५ प्रतिष्ठान दर्ता भएका, ४ लाख ६० हजार ४ सय २२ दर्ता नभएका र दर्ता स्थिति नखुलेका ३ सय २९ प्रतिष्ठान रहेको विभागले जनाएको छ ।

प्रतिष्ठानमा सक्रिय रूपमा संलग्न जनशक्ति सङ्ख्या ३२ लाख २८ हजार ४ सय ५७ रहेका छन् । त्यसमध्ये पुरुष ६२।३ प्रतिशत र महिला ३७।७ प्रतिशत रहेको विभागका आर्थिक गणना शाखाका निर्देशक अनिल शर्माले बताए। आर्थिक तथ्याङ्कको आधारको रूपमा विभिन्न प्रकारका उद्योग, व्यवसाय, सङ्घसंस्था आदि जस्ता प्रतिष्ठान (आर्थिक एकाइ) को विवरण सङ्कलन गर्ने उद्देश्यले विभागले २०७५ वैशाख १ देखि जेठ ३१ सम्म गणनाको तथ्याङ्क सङ्कलन गरेको थियो ।

विभागले देशका ७७ जिल्लामा नै आर्थिक गणना कार्यालय स्थापना गरी आर्थिक गणना तथ्याङ्क सङ्कलन कार्यक्रम देशव्यापी रूपमा सञ्चालन गरेको उनले जानकारी दिए। देशमा आर्थिक तथ्याङ्कको आधार खडा गर्नु यस गणनाको मुलभूत लक्ष्य रहेको हो भने केन्द्र, प्रदेश तथा स्थानीय तहका सरकारलाई योजना तर्जुमा र नीति निर्माण गर्न आधारभूत आर्थिक तथ्याङ्क उपलब्ध गराउनु गणनाको मुख्य उद्देश्य हो ।

 गणना अनुसार सबैभन्दा बढी ४ लाख ९८ हजार ६९ वटा थोक तथा खुद्रा व्यापार, मोटर गाडी, मोटरसाइकलको मर्मत क्षेत्रका प्रतिष्ठान रहेका छन् भने सबैभन्दा कम घरजग्गा कारोवार क्षेत्रका २०७ प्रतिष्ठान रहेका छन्।

त्यस्तै सबैभन्दा बढी जनशक्ति पनि थोक तथा खुद्रा व्यापार, मोटर गाडी, मोटरसाइकलको मर्मत क्षेत्रका प्रतिष्ठानमा ९ लाख ८८ हजार ३ सय ४६ सक्रिय रुपमा संलग्न छन् भने सबैभन्दा कम घरजग्गा कारोवार क्षेत्रमा प्रतिष्ठानमा १ हजार ९ सय ७७ जनशक्ति संलग्न छन् । प्रदेशअनुसार सबैभन्दा बढी प्रतिष्ठान प्रदेश नं ३ मा २ लाख ८२ हजार ९ सय २० छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा ४२ हजार ८ सय ७ प्रतिष्ठान छन् ।

 

प्रकाशित मिति: : 2019-07-01 23:11:40

प्रतिकृया दिनुहोस्