दुई दिनदेखि सिंजा गाउँपालिकाका २२ विद्यालय एकमुष्ट बन्द भएका छन् । नीजि स्रोतका शिक्षकहरूले आफूले तलब नपाएको आरोप लगाउँदै अनिश्चितकालीन विद्यालय बन्द गरेका हुन् । विधालय बन्द भएपछि जुम्लाका विधार्थीहरुकाे भविष्य अन्याैलमा परेकाे छ।
सिंजा गाउँपालिकाका २२ विद्यालयमा कार्यरत ६३ नीजि स्रोतका शिक्षकले तलब नपाएपछि बन्द गर्नु परेको आन्दोलनरत शिक्षक हरी बहादुर रोकायाले ब्रेक एन लिंक्सलाई जानकारी दिए।
उनेल ४ दिनअघि तलब उपलब्ध गराउन अल्टिमेटम दिँदा समेत व्यवस्थापन समितीले चासो नराखेको आरोप लगाए।
यस अघि नीजि स्रोतका अधिकांश शिक्षकले सरकारले उपलब्ध गराउँदै आएको ‘पर चाइल्ड फण्ड’ र विद्यालयको खाजा रकमबाट तलब खाँदै आएका थिए।
सरकारले उक्त रकम रोकेपछि स्रोत व्यवस्थापन गर्न अधिकांश विद्यालयलाई कठिनाई देखिएको थियो।
शिक्षक डिल्ली तिवारीका अनुसार गाउँपालिकाले स्रोत व्यवस्थापन गरोस् भन्ने मनसायले माग राखेर आन्दोलन गरेको बताए।
विद्यालय बन्दको कदम उचित नभएकाले विद्यार्थीको पठनपाठन अवरोध नगर्न आग्रह गर्दै सिंजा गाउँपालिका अध्यक्ष देवलसिंह रावलले भने ‘नीजि शिक्षकहरूको तलबसँग गाउँपालिककाको कुनै सम्बन्ध छैन्।’
विद्यालय बन्द हुँदा त्यसको प्रत्यक्ष असर विद्यार्थीहरूमा परेको छ। शिक्षा विकास तथा समन्वय एकार्इ जुम्लाका प्रमुख मक्कर भण्डारीले कुनै पनि बहानामा विद्यालय बन्द गर्नु नहुने भएकाले तत्काल विद्यालय खुलाउन आग्रह गरे।
हालसम्म गाउँपालिकाले कुनै सक्रियता नदेखाएको र विद्यालय व्यवस्थापन समितिले पनि पहल नगरेकोले तत्काललाई विद्यालय खोल्ने सम्भावना नरहेको शिक्षक तिवारीले बताए।