भेरी अञ्चलमा फेरी बढ्यो सर्पदंशको बिरामी

तस्बिरः बिएल

बर्षात सुरु भएसँगै पश्चिम नेपालमा सर्प दंशका बिरामीहरूको संख्या बढ्दै गएको छ ।

असारको दोस्रो साता परेको अबिरल बर्षा पछि नेपालगन्जको भेरी अस्पतालमा उपचारका लागि आउने सर्प दंशका बिरामीको संख्या बढेकोे हो।

बर्षातका कारण सर्पको बासस्थानमा पानी पसे पछि सर्पले सुरक्षित ओभानो ठाउँ खोज्ने क्रममा मानिस सुतिरहेको ठाउँमा जाने र मान्छेलाई टोक्ने गरेको चिकित्सकहरूले बताएका छन् ।

पछिल्ला दिनमा दैनिक ५ देखि १० जना सर्पदंशका बिरामी अस्पताल आउने गरेका छन् ।

करेत र कोब्रा जातका सर्प बढी बिषालु हुने भएकाले त्यस्ता सर्पहरूले टोकेका बिरामीलाई जति सक्यो छिटो अस्पताल पुर्राएर उपचार गराउन चिकित्सकहरूले सुझाव दिएका छन् ।

बिगतका बर्षमा करेत र कोब्रा जातका बिषालु सर्पले टोकेका बिरामीहरु आउने गरेकोमा गत बर्ष देखि रसेल्स वाइपर जातको बिषालु सर्पले टोकेको बिरामी पनि अस्पतालमा आएको उपचारमा संलग्न भेरी अस्पतालका चिकित्सक डा पारस पान्डेले बताए । पछिल्ला दिनमा अस्पतालको इमरजेन्सी, आइसियु र वार्डमा सर्पदंशका ५ जना सम्म बिरामीको उपचार हुने गरेको भेरी अस्पतालका नेपालगन्जका चिकित्सक डा पारस पान्डे बताउँछन्।

अस्पतालमा उपचारका लागि आएका अधिकाश सुतिरहेको अवस्थामा सर्पले टोकेको बताइएको छ।

अस्पतालले सर्पदंशका बिरामीलाई आइसियुमा राखेर उपचार गर्न सुरु गरे सँगै सर्पदंशका कारण मृत्यु हुने घटना कम हुँदै गइरहेको छ।

यो बर्ष अस्पतालमा उपचारका लागि आएका बिरामी मध्ये एक जना बिरामीको मृत्यु भईसकेको छ ।

बाँके राष्ट्रिय निकुञ्जको जंगलसँग जोडिएका चिसापानी , महादेबपुरी, कसुम , कोहलपुर क्षेत्रका बासिन्दा सर्पको टोकाईबाट बढी पिडित हुने गरेका छन् ।

सर्पको टोकाईबाट बच्नका लागि खाटमा झुल लगाएर सुत्न , घर नजिकै दाउरा, ढुंगा नराख्न, शौचालय जाँदा टर्चको प्रयोग गर्ने जस्ता सावधानी अपनाउन चिकित्सकले आग्रह गरेका छन् ।

गत बर्ष भेरी अस्पतालमा ४ सय ५० बिरामी उपचारका लागि आएका थिए । ती मध्ये १ सय ५० बिरामीलाई बिषालु सर्पले टोकेको थियो।

 

प्रकाशित मिति: : 2019-07-01 18:20:35

प्रतिकृया दिनुहोस्