भारतको एम्स अस्पतालमा उपचार नपाउँदा एउटी महिलाको बच्चा गर्भमै तुहियो, चिकित्सकले नै गरे कार्यवाहीको माग

तस्वीरः एजेन्सी

भारतको चर्चित एम्स अस्पतालमा सिनियर स्त्रीरोग विशेषज्ञकोे चरम लापरवाहीका कारण एक महिलाले गर्भमै बच्चा गुमाउनु परेको छ।

घटनामा सलंग्न महिला चिकित्सकलाई कार्यवाही गरिनुपर्ने आवाज उठाउँदै एम्समै कार्यरत अन्य चिकित्सकहरूले एम्स प्रशासनसमक्ष उजुरी गरेका छन्।
घटना ८ जुन राती भएको बताइएको छ।

बिहार राज्यको पश्चिमी चम्पारणबाट किरण देवी नाम गरेकी एक गर्भवती महिलालाई राती ११ बजेर १५ मिनेटमा एम्स ल्याएको थियो।

इमर्जेन्सीमा भर्ना भएकी ती महिलाको अवस्था चिन्ताजनक भएपछि अस्पतालकै रेजिडेन्ट डाक्टरलाई राती १ बजे उपचारका लागि अन्य चिकित्सकले बोलाएका थिए।

तर, एम्समा कार्यरत स्त्रीरोग विशेषज्ञ महिला डाक्टरले गर्भवती महिलाको उपचार गर्न नमानेपछि गर्भमै बच्चाको निधन भयो।

डाक्टरले गर्भवती महिलाको निधन भएपछि मात्र आफूले अपरेशन गर्ने भन्दै इमर्जेन्सीमा कार्यरत अन्य डाक्टरलाई ओठे जवाफ फर्काएकी थिइन। त्यसको एक घण्टाभित्रै महिलालाई ‘कार्डियो अरेष्ट’ भएको र बच्चा महिलाको गर्भमै तुहिएको अन्य डाक्टरले बताएका छन्।

हाल पीडित महिला आइसियुमा उपचार गराइरहेकी छिन्।

घटनाको विरोधमा इमर्जेन्सीमै रहेका अर्का डाक्टरले ११ जुनमा एम्स निर्देशकसमक्ष लिखित उजुरी दर्ता गराएका थिए। घटनाको छानवीनका लागि प्रशासनले ४ सदस्यीय कमिटी पनि गठन गरिसकेको छ।

कमिटीलाई १५ दिनभित्र रिपोर्ट पेश गर्न भनिएको छ।

श्वाँस फेर्न समस्या भएपछि महिलालाई एम्स ल्याएको थियो। कार्डियो सर्जनहरूले सुरुमा महिलाको श्वाँस प्रश्वाँसको छानवीन गरेका थिए। महिलाको गर्भ ३२ साताको भएका कारण अन्य चिकित्सकहरू तत्काल अपरेशनका लागि स्त्रीरोग विशेषज्ञलाई बोलाउने निर्णयमा पुगेका थिए।

महिलाको अवस्था बुझन सिनियर रेजिडेन्ट राती १ बजे अस्पताल पुगेकी थिइन। यति बेला बच्चाको धड्कन चलिरहेको बताइएको छ।

इमर्जेन्सीमा कार्यरत डाक्टरका अनुसार उनीहरूले विरामीको अवस्था बुझेर महिला चिकित्सकलाई अपरेशनबाट बच्चा निकाल्न सल्लाह दिएका थिए। र, उनीहरूले आवश्यक बेड पनि उपलब्ध गराएका थिए।

तर, ती महिला चिकित्सकले विरामीको बुकिङ नभएको भन्दै अपरेशन गर्न नसक्ने जवाफ फर्काएकी थिइन। उनले अन्य चिकित्सकलाई ओठे जवाफ फर्काउँदै महिलाको मृत्यु भएपछि मात्र अपरेशन सम्भव भएको बताएकी थिइन।

लगत्तै महिलालाई ‘कार्डियो अट्याक’ भएको थियो। यस पछि बच्चाको धड्कन बन्द भयो। महिला चिकित्सक उपचार नगरिकनै बाहिरिएको बताइएको छ।

पीडित महिला बिहान ५ बजेसम्म इमर्जेन्सीमै थिइन। ९ जुन बिहान मात्र उनलाई मेडिसिन युनिटमा भर्ना गरिएको थियो।

प्रकाशित मिति: : 2019-06-29 16:14:46

प्रतिकृया दिनुहोस्