युरोप गर्मीले राँपियो, केही देशमा ‘रेड अलर्ट’ जारी

Agency

मध्यपूर्व र एसियाली देश मात्र होइन, युरोपेली देश पनि यति बेला गर्मीबाट पीडित बन्न थालेका छन्। गर्मीले यो साता युरोपवासीहरूलाई हत्तोत्साही बनाएको छ।

शुक्रबार मात्र फ्रान्समा गर्मी ४५ डिग्रीमाथि उक्लिएपछि फ्रेन्चहरू सरकारले विभिन्न ठाउँमा ‘रेर्ड अलर्ट’ जारी गरेको छ।

फ्रान्समा यति धेरै गर्मी अहिलेसम्म भएको थिएन। सन् २००३ को अगस्टमा फ्रान्सको दक्षिणी मोन्टपेल्लियरमा ४४ दशमलव १ डिग्री तापक्रम मापन गरिएको थियो। तर, शुक्रबार कारपेन्ट्रासमा गर्मी ४५ दशमलव १ डिग्री मापन गरियो।

फ्रान्सेली मौसम विभागले देशको तापमान अझै बढ्न सक्ने चेतावनी दिएको छ।

युरोपमा ४० डिग्री तापमानलाई अति गर्मी मानिन्छ। तर, जुन महिनाको अन्त्यतिर फ्रान्समा मात्र होइन, युरोपका अन्य मुलुकहरूमा पनि तापक्रम ४० भन्दामाथि मापन गरिएको छ।

मौसमविद्हरूले यति बेला युरोपमा गर्मी बढ्नुलाई अफ्रिकी देश जिम्मेवार रहेको बताएका छन्। उनीहरूले पछिल्लो समय अफ्रिकाबाट फैलिएको तातो हावाका कारण युरोपमा असर परेको दावी गरेका छन्।

शुक्रबार जर्मनीको चर्चित शहर बर्लिनमा पनि तापक्रम ३६ डिग्री मापन गरिएको थियो। चिसो मानिने अस्ट्रियाको राजधानी भियनामा पनि ३५ डिग्री गर्मी मापन गरिएको थियो।

फ्रान्समा बढ्दो गर्मीका कारण स्थानीय बजारबाट पंखा र एयर–कन्डिसनको अधिक मात्रामा बिक्रि भएको न्युयोर्क टाइम्सले जनाएको छ।

न्युयोर्क टाइम्सका अनुसार गर्मीका कारण फ्रान्सको शिक्षा मन्त्रालयले मध्यम कक्षाको परीक्षा पनि स्थगित गरेको छ।

फ्रान्समा जारी महिला विश्व कपमा पनि गर्मीको प्रभाव देखिएको छ। विश्व फुटबल महासंघ (फिफा) ले फ्रान्सको बढ्दो तापक्रमलाई मध्यनजर राख्दै रेफ्रीहरूलाई ३२ डिग्री माथि तापक्रम पुगेको खण्डमा खेलाडीलाई पानी पिउन ‘वाटर ब्रेक’ को प्रस्ताव राखेको छ।

यस्तै, स्पेनको राजधानी म्याड्रिडलगायत केही शहरमा गर्मी ४० डिग्रीमाथि उक्लेको छ।

अष्ट्रियाले राजधानी भियनाको तापक्रम ३६ डिग्री पुगेपछि सरकाले सडकलाई चिसो बनाउन ठाउँ–ठाउँमा ‘फाउन्टेन’ चलाउन आदेश दिएको छ। यस्तै, विभिन्न ठाउँमा पौडी पोखरी खुला गरिएको छ, जहाँ स्नान गर्नका लागि सर्वसाधारणले पैसा तिर्नु नपर्ने नियम लागु गरिएको छ।

भियनाको चिडियाखानामा जनावरलाई फ्रुट आइसक्रिमको व्यवस्था गरिएको छ।

जर्मनीको मौसम विभागले यो साता जर्मनीको तापक्रम ३९ डिग्रीमाथि जानसक्ने चेतावनी दिइसकेको छ। मौसम विभागको यो अनुमान सत्य सावित भएको खण्डमा जर्मनीमा ७० वर्ष लामो गर्मीको पुरानो कीर्तिमान भंग हुनेछ।

जर्मनीमा अत्याधिक गर्मीका कारण मानिसहरू लुगा खोलेर बाटोमा हिड्न थालेको विभिन्न समाचार एजेन्सीहरूले बताएका छन्। स्थानीय एक प्रहरीका अनुसार टिसर्ट खोलेर बाटोमा हिडिरहेका एक व्यक्तिलाई उनीहरूले हालै पक्राउ गरेको थिए। तर उनले गर्मी खेप्न नसकेर आफूले लुगा फुकालेको बयान दिएपछि छोडिदिएको जानकारी दिएका छन्।

हंगेरीको राजधानी बुडापेस्टमा पनि ३६ डिग्रीको ‘रेकर्ड–ब्रेक’ गर्मी मापन गरिएको छ।

चिसो मानिएको स्विट्जरल्यान्ड पनि अहिले गर्मीको चपेटामा परेको छ। सरकाले केही ठाउँमा चेतावनीयुक्त बुलेटिन जारी गरेको छ।

राजधानी जेनेभामा ७५ वर्षमाथिका मानिसलाई गर्मीबाट कसरी बाँच्ने भनेर १३ हजार ब्रोसर बाँडिसकेको सरकारले जानकारी दिएको छ।

नेदरल्यान्डको एमस्टर्डमस्थित ब्राइजे विश्वविद्यालयमा वातावरण विषयका शोधकर्ता डिम कोमोले भविष्यमा युरोपमा गर्मी अझै बढ्ने चेतावनी दिएका छन्। फ्रान्सको मौसम विभागले विगत ३४ वर्षमा देशमा तातो हावाको मात्रा दुई गुणाले बढेको बताएको छ। र, उसले २०५० सम्म तातो हावाको मात्रा बढेर चार गुणा हुने दावी गरेको छ।

प्रकाशित मिति: : 2019-06-29 14:02:01

प्रतिकृया दिनुहोस्