पश्चिम नेपालको अर्घाखाँची जिल्ला भूमिकास्थान-२ को एक बेलबासे परिवार नयाँदिल्लीमा बिचल्लीमा परेको समाचार प्राप्त भएको छ । दुई वर्षअघि घरबार बेचेर दुबै मृगौला फेरेका खिमराज बेल्बासेका आठ वर्षीय छोरा विशेष अहिले दिल्लीको अल इण्डिया इंस्टिच्यूट अफ मेडिकल साइन्सेसमा एउटा अनौठो र दूर्लभ रोगसँग लडिरहेका छन् ।
विशेष सुरूमा मुखमा कालो पोतोजस्तै देखिने र त्यसबाट मांशपेसी बढ्दै संक्रमण फैलिएर लार्भा निस्कने अनौठो रोगबाट संक्रमित छन् । डाक्टरले यसलाई जेंरेटिक समस्या भन्दै नेपालमा पहिलोपटक देखिएको यो रोगको उपचार सम्भव नभएको बताएका छन् ।
नेपालका सुपर स्पेशलिटी अस्पतालदेखि रिसर्च सेन्टरसम्म लाखौँ रुपियाँ खर्च गरे पनि उपचार हुन नसकेपछि उनलाई दिल्ली ल्याइएको हो ।
दिल्लीको अल इण्डिया इंस्टिच्यूट अफ मेडिकल साइन्सेसमा १० भन्दा बढी लेजर र ३ मेजर सर्जरी भैसकेको बताउँदै विशेषकी आमा भन्छिन्- डाक्टरले लामो समयसम्म उपचार गर्नुपर्छ भनेका छन् । तर, मसँग त्यो हैसियत नै छैन ।
भनिन्छ, दु:खको पहाड आउँदा चारैतिरबाट आउँछ । छोराको स्थिति दिन प्रतिदिन नाजुक बन्दै गैरहेकै बेला घर चलाउने एकमात्र सदस्य खिमराज बेल्बासेको दुई वर्षअघि दुबै मृगौला प्रत्यारोपण गरिएको थियो । सानो र सुखी परिवारको उदाहरण बनेको बेलबासे परिवार अहिले पीडामा छ । प्रवासमा लामो अवधिको उपचार, एक मात्र छोरो, श्रीमान् पनि विरामी भएका कारण परिवारको बिचल्ली भएको छ।
विगत छ महिनादेखि कुनै सहयोग नआउँदा आफ्नो दैनिकी गुजारा गर्नसम्म गारो भएको विरामीकी आमा बिमला बताउँछिन् । डाक्टरले विशेषमा क्यान्सर हुने सम्भावना देखिएको बताएका छन ।
राजधानी दिल्लीमा समाजसेवी राजु परिवार, नेपाली देश भक्त आवाज र अर्घाखाँचीका समाजसेवी सचिन पाण्डेले विशेष बेल्बासे बचाउ अभियान चलाएर केही रकम जुटाइ दिएका थिए । तर, त्यसबाट पनि छ महिनायता कुनै सहयोग हुन नसकेको विशेषकी आमा विमला बताउँछिन् ।
पीडामा रहेकाी विशेषकी आमा बिमलाले आर्थिक सहयोग गरेर छोराको ज्यान बचाइदिन सबैलाई अपिल गरेकी छन् ।