न्युरोडमा अवस्थित असन बजार, जहाँ दैनिक हजारौंको संख्यामा मानिसहरू किनमेलका लागि जम्मा हुने गर्छन्।
असन बजारको मुटुमा एउटा चर्चित भैरवनाथको मन्दिर छ। जहाँबाट उभिएर अगाडि हेर्यो भने जो कोहीले एउटा बाक्लो पोते बजार देख्न सक्छन्।
असनलाई नेवारी समुदायको अखडा पनि मानिन्छ। तर रमाइलो कुरा, रातो–निलो र हरियो पोतेले सिङ्गारिएको यो बजार प्रवेश गर्दा दोकानका कुनै पनि साहु नेवारी भेटिदैनन्। उनीहरू मज्जाले नेवारी भाषा बोल्छन्।
तर, वास्तवमा उनीहरू मुसलमान हुन्।
अब सबैलाई कौतुहल लाग्न सक्ला! लामो समयदेखि असनमा चुरा र पोते बेच्दै आइरहेका यी मुसलमानहरू आखिर आए कहाँबाट?
यो सँग जोडिएको एउटा रोचक इतिहास छ।
असनमा चुरा र पोतेको व्यापार गर्दै आइरहेका यी मुसलमानका पूर्खाहरू राजा प्रताप मल्लको पालामा काठमाडौं प्रवेश गरेका थिए। दरबारले नै उपलब्ध गराएको जग्गामा उनीहरूले पोतेको व्यापार सुरु गरेका हुन्।
पहिले उनीहरू नेपालको गोर्खा र नेपालगञ्ज तथा भारतको बनारसबाट बसाइँ सरेर काठमाडौं प्रवेश गरेका थिए। आफ्ना हजुरआमा र आमाबाट पोते उन्न सिकेका मुस्लिम समुदायका पुरुषहरू करिब ५ सय वर्ष पहिलादेखि असनमा आफ्ना अग्रजले पोतेको व्यापार गर्न थालेको दावी गर्छन्।
गोरखाको ताप्ले, कोठे, डेरागाउँ र आले भन्ज्याङ्गमा नेपाली मुस्लिमहरूको बाहुल्य छ।
राजा प्रताप मल्ल र पृथ्वीनारायण शाहको पालामा मुसलमानहरू डोकोमा चुरा र पोते बोकेर दरबार प्रवेश गर्थे। यसै क्रममा उनीहरूको हिमचिम दरवारीयाहरू सँग बढ्न गएको थियो।
पृथ्वीनारायण शाहको राज्य एकीकरण अभियानअन्तर्गत काठमाडौं कब्जापछि गोर्खाका मुसलमानहरूलाई पनि काठमाडौं आउन सहज भयो।
हाल असनको पोते बजारमा ६ पुस्तादेखि व्यापार गरेर बसेका ७६ वर्षिय सानुभाई भन्छन्, ‘म १२ वर्षको हुँदा हजुरबुवाले व्यवसाय गर्न सिकाउनु भयो।’
राणाकालमा सानुभाईको पोतेको पसल नजिकैबाट विष्णुमति खोला बग्ने गर्दथ्यो। पसलको नाममा सानो टहरा थियो। सरकारले पछि जग्गा उपलब्ध गराएपछि उनीहरूले घर बनाएका थिए।
‘२०३६ सालसम्म हामी टहरामै पसल थापेर बसेका थियौं। सरकारले हाम्रो नाममा जमिन पास गरेर दिएपछि मात्र हामीले घर बनायौं,’ उनी भन्छन्।
पोते बजारको आम्दानीबाटै सानुभाईका हजुरबुवाले स्वयम्भूस्थित विजेश्वरीमा घर बनाएका थिए। अहिले सानुभाई आफ्ना नाति पुस्तासँग स्वयम्भूकै घरमा बसोबास गर्छन।
अहिले असनको पोते पसलमा उनीमात्र होइन, उनको नाति पनि व्यस्त छन्। ३२ वर्षिय उनका नाति भन्छन्, ‘कतारमा वैदेशीक रोजगारीका लागि २ वर्ष बसँे। कमाइ राम्रो भएन। कतारमा भन्दा पोतेको व्यापार नै ठिक लाग्यो। अहिले यहि व्यस्त छुँ।’
असनकै पोते बजारमा व्यवसाय गरिरहेका अर्का व्यापारी जाहिर अहमद पनि हजुरबुवाकै पछि लागेर आफूले पोते उन्न सिकेको बताउँछन्।
५० वर्षिय जाहिर आफ्ना पूर्खाले गरेको कुराकानीको आधारमा दावी गर्छन्, ‘हाम्रो बाजेहरू प्रताप मल्लकै पालामा काठमाडौं आउनु भएको थियो।’
काठमाडौंको ओटु घर भएका जाहिर भूइँचालोले घर चर्किएपछि हाल नयाँ बजारमा बसोबास गर्दै आइरहेका छन्। उनको एउटा छोरा पनि पोते व्यवसायमै सक्रिय छन्।
उनी आफ्नो बुवा र राजा महेन्द्रबीच घनिष्ट सम्बन्ध भएको बताउँछन्। ‘इन्द्रजात्रा र कुमारी जात्रामा राजाहरू बसन्तपुर आउँदा बुवा गएर भेट्नु हुन्थ्यो। राजा महेन्द्रले हालखबर सोध्नु हुन्थ्यो। अहिले यो सम्झँदा अचम्म लाग्छ,’ जाहिर भन्छन्।
राजा महेन्द्रले नै बक्सिस स्वरुप अहिलेको पसल बुवाको नाममा नामसारी गराइदिएको सम्झना अहिले पनि उनीसँग ताजै छ।
असनमा हाल ४४ वटा पोतेका सटरहरू छन्। ती सवै उनीहरूले राजा–महाराजाहरूबाट बक्सिस बापत प्राप्त गरेका थिए।