यस वर्ष कोरियाली भाषा परीक्षामा १२ हजार ९ जना उत्तीर्ण भएका छन्। सन् २०१९ मा कोरियामा रोजगारीका लागि ९२ हजार ३ सय ७६ जनाले भाषा परीक्षा दिएका थिए।
रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत उत्पादनमूलक क्षेत्रतर्फ ९ हजार १ सय ४३ र कृषि क्षेत्रतर्फ र्२ हजार ८ सय ७६ उत्तीर्ण भएका छन् ।
यस्तै, उत्पादनमूलक क्षेत्रतर्फ ६३ हजार ४ सय ८७ र कृषि तथा पशुलापन क्षेत्रतर्फ २८ हजार ८ सय ८९ जनाले परीक्षा दिएका थिए ।
भाषा परीक्षा जेठ २५ र २६ मा सञ्चालन भएको थियो। दक्षिण कोरिया सरकारले सन् २०१९ का लागि उत्पादन र कृषि तथा पशुपालन क्षेत्रमा गरी १० हजार ५० नेपाली कामदार लैजाने निर्णय गरेको छ ।
कोरियाले सन् २०१९ का लागि उत्पादनमूलक क्षेत्रतर्फ ७ हजार ५० र पशुपालनतर्फ ३ हजार कामदार लैजानेछ । भाषा परीक्षा उत्तीर्ण व्यक्तिले मात्र दोस्रो चरणको सीप तथा क्षमता परीक्षणमा सहभागिता जनाउन पाउनेछन् ।
क्षमता परीक्षणमा सम्बन्धित व्यक्तिको कामको अनुभव, तालीम, शैक्षिक पृष्ठभूमि एवं प्रमाणपत्रलाई आधार लिइनेछ । कोरिया सरकारले इपिएसअन्तर्गत सन् २००८ देखि नेपाली युवालाई आफ्नो देशमा रोजगारीको अवसर उपलब्ध गराउँदै आएको छ ।
दुई सरकारका बीचमा स्थापना गरिएको सरकारी संयन्त्रबाटै नै नेपालीले दक्षिण कोरिया जाँदै आएका छन् । एकदशकका अवधिमा विभिन्न चरणमा सञ्चालित भाषा परीक्षामा ४ लाख ८३ हजार ४९ जनाले सहभागिता जनाएका छन् । हालसम्म कोरियामा ५८ हजार ७ सय ९ नेपालीले रोजगारीको अवसर प्राप्त गरेको इपिएस शाखाले जनाएको छ ।
इपिएसअन्तर्गत कोरिया जाने नेपाली युवाले चार वर्ष १० महीनासम्म कोरियामा कामको अवसर पाउनेछन् । सोही अवधिमा एकपटक आफ्ना परिवारका सदस्यलाई कोरिया लैजान पाउनेछन् । त्यस्तै कोरिया सरकारले तोकेको न्यूनतम् पारिश्रमिकलगायत सामाजिक सुरक्षासमेत प्राप्त गर्नेछन् ।