विगत ३० वर्षदेखि जङ्गलमा बास बस्दै आएका पाल्पाको निस्दी गाउँपालिकाका एक वृद्ध अहिले घर फर्केका छन् । निस्दी–४ मित्यालका जसवीर सुनारी कुष्ठरोग लागेका कारण गाउँदेखि करीब ७०० मिटर टाढा जङ्गलमा बस्दै आएका थियो।
जङ्गलमा बास बस्दै करीब ३० वर्ष बिताएका सुनारीको विषयमा विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन तथा प्रसारण भएपछि स्थानीय सरकारको पहलमा उनलाई घर फर्काइएको छ । गाउँपालिकाका जनप्रतिनिधि, राजनीतिक दल, समाजसेवी, स्वास्थ्यकर्मीको टोलीले उनलाई घरमा फर्काएको गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले जानकारी दिए ।
कुष्ठरोग लागेको थाहा पाएपछि विसं २०४० मा गाउँलेले गाउँमा कुष्ठरोग फैलिने डरले गाउँदेखि टाढा भिरालो जग्गा बाँसघारी नजिकै पठाएका थिए । उमेरले करीब ८० वर्ष पुगेका वृद्ध सुनारीले आफू बिरामी भएपछि गाउँलेहरुले आफूलाई हेला गर्ने गरेको स्मरण गरे पनि अहिले घरमा बस्दा रमाइलो लागेको बताए।
जङ्गलमा बस्दा जङ्गली जनावरको डर लाग्ने बताउँदै अहिले धेरैपछि घरमा आउँदा आफँैलाई अचम्म लागेको सुनारीको भनाइ छ । अविवाहित सुनारीले भाइका छोराबुहारीले माया गरेर पहिलेदेखि नै घरमा बोलाउँदा पनि सबैले हेला गर्ने डरले नआएको बताए । सुनारी केही समय अगाडि आफ्ना भाइसँगै बस्न थलेको छ । यसअघि कहिलेकाहीँ गाउँमा हुने विवाह तथा चाडपर्वमा सहभागी हुने गरे पनि खरको छानो र खरले नै बारेको छाप्रोमा बस्दै आएका थिए ।