विगत केही दिन यतादेखि काठमाडौंको विभिन्न जिल्लामा महिलामाथि सिरिन्ज घोप्दै मोटरसाइकलमा फरार हुने गरेको अभियुक्त मध्ये एक जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ।
प्रहरीको विशेष टोलीले रामेछाप घर भई हाल नैकाप बस्दै आएका ३० वर्षीय सन्तोष कार्कीलाई पक्राउ गरेको हो। अभियुक्त कार्कीले आफ्नो अपराध स्विकार गरिसकेको नेपाल प्रहरीका प्रवक्ता होविन्द्र बोगटीले जनाएका छन्।
कार्कीलाई बा ४७ व १३३१ नम्बरको मोटरसाइकलमा महाराजगञ्जबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार कार्कीको महाराजगञ्जमा फास्टफुड रेष्टुरेन्ट छ। उनी राति १० बजे रेष्टुरेन्ट बन्द गरेर सोह्रखुट्टे, टंकेश्वर हुँदै नैकाप फर्किने क्रममा बाटोमा भेटिएका महिलाहरूलाई ढलान किलाले घोपेर भाग्ने गर्थे।
पीडितहरूको उजुरीको आधारमा काठमाडौं महानगर प्रहरी परिसर र अपराध महाशाखाको संयुक्त टोलीले अभियुक्तको छानवीन गरिरहेको थियो। धाँरिलो काटीले घोचेको भनिएका केही व्यक्तिहरूले टेकु अस्पतालमा उपचार गराउनु परेको थियो।
प्रहरीले पीडितहरूको उजुरीकै आधारमा छानवीन तिब्र बनाएको थियो।