भक्तपुरमा प्रकाशित भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको नतिजा मोबाइलमा हेर्दै । तस्बिर–रोशन सापकोटा, रासस
माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई)को पछिल्लो नतिजामा पनि निजी लगानीका विद्यालयको तुलनामा सार्वजनिक विद्यालयको स्तर खस्केको छ ।
सरकारले सार्वजनिक विद्यालय सुधारका लागि विभिन्न अभियान र कार्यक्रम सञ्चालन गरे पनि परीक्षाफलमा निजी लगानीका विद्यालयका विद्यार्थीले राम्रो स्तरीकृत अङ्क (जिपिए) ल्याउँदै आएका छन् । विहिबार प्रकाशित २०७५ सालको एसइई परीक्षामा कूल सहभागी चार लाख ९५ हजार २७५ विद्यार्थीमध्ये सार्वजनिक विद्यालयबाट ७० दशमलव ८४ र निजीका २९ दशमलव १६ प्रतिशत विद्यार्थी छन् तर माथिल्लो जिपिए ‘ए प्लस’ ल्याउने विद्यार्थी १४ हजार ७८८ निजी विद्यालयकै छन् ।
जिपिएमा सार्वजनिक विद्यालयका दुई हजार ७९२ विद्यार्थी मात्र छन् ।
सबैभन्दा तल्लो जिपिए ‘इ’ ल्याउनेमा सार्वजनिक विद्यालयका छ हजार ६७३ छन् भने निजीका एक हजार ९६ मात्र छन् । यसरी हेर्दा फेरि पनि सरकारी विद्यालयको स्तर निजीको तुलानमा कमजोर देखिएको छ ।
शिक्षाविद् डा विद्यानाथ कोइराला कोही पनि विद्यार्थी अनुत्तीर्ण नभनिने अक्षराङ्कन प्रणालीमा पनि सार्वजनिक विद्यालयका यति धेरै विद्यार्थीको नतिजा कमजोर हुनु चिन्ताजनक भएको बताउँछन्। उनी भन्छन्, “सार्वजनिक विद्यालयमा पढाउने शिक्षकले सम्मान र नपढाउने शिक्षकले गाली पाएन । पढाउन नजान्नेलाई पनि सहयोगी वातावरण र समग्रमा शिक्षकलाई प्रोत्साहित गरिएन । त्यसकारण गुणस्तर खस्किएको हो ।”
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले परीक्षामा अक्षराङ्कन पद्धतिबारे उत्पन्न अन्योल चिर्न ‘विद्ययालय शिक्षामा अक्षराङ्कन पद्धति, कार्यान्वयन कार्यविधि, २०७२’ जारी यो प्रणालीको कार्यान्वयन गरेको हो ।
राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्बाट २०७२ मङ्सिर २३ मा स्वीकृत भई लागू भएको अक्षराङ्कन पद्धतिबारे अवधारणागत एकरूपता, कार्यान्वयनमा सहजता र स्पष्टता प्रदान गर्न शिक्षा नियमावली, २०५९ को नियम १९२ को (ङ) र (च) अनुसार कार्यविधि लागू गरिएको हो ।
विद्यार्थीले पाउने प्रमाणपत्र तथा ग्रेड सिटमा उत्तीर्ण–अनुत्तीर्णको उल्लेख नभई सोको सट्टा विषयगत ग्रेड दिइने र समग्रमा स्तरीकृत अङ्क दिइने प्रक्रिया अक्षराङ्कन हो । विश्वका धेरैजसो मुलुकममा यो प्रणाली छ । ‘अक्षराङ्कन’ भन्नाले तोकिएको सक्षमताको मूल्याङ्कनपश्चात् विद्यार्थीले हासिल गर्ने सिकाइ स्तरलाई अक्षरमा गरिने प्रस्तुति मानिन्छ ।
ग्रेड निर्धारण तालिका
सि.नं. प्राप्ताङ्कको वर्गान्तर (प्रतिशतमा) ग्रेड व्याख्या स्तरीकृत अङ्क १ ९० र सोभन्दा माथि ए प्लस अति विशिष्ट ४ सम्म २ ८० र सोभन्दा माथि ९० भन्दा कम ए विशिष्ट (उत्कृष्ट) ३.६० सम्म ३ ७० र सोभन्दा माथि ८० भन्दा कम बी प्लस धेरै राम्रो ३.२० सम्म ४ ६० र सोभन्दा माथि ७० भन्दा कम बी राम्रो २.८० सम्म ५ ५० र सोभन्दा माथि ६० भन्दा कम सी प्लस सन्तोषजनक २.४० सम्म ६ ४० र सोभन्दा माथि ५० भन्दा कम सी ग्रहणयोग्य २.०० सम्म ७ ३० र सोभन्दा माथि ४० भन्दा कम डी प्लस आंशिक ग्रहणयोग्य १.६० सम्म ८ २० र सोभन्दा माथि ३० भन्दा कम डी न्यून १.२० सम्म ९ २० भन्दा कम ई धेरै न्यून ०.८० सम्म (स्रोत– पाठ्यक्रम विकास केन्द्र)
विद्यार्थीको सिकाइ सक्षमतालाई यथार्थरूपमा प्रमाणीकरण र सिकाइ उपलब्धिको अङ्कन गर्दा देखिने अङ्कगतस्तरलाई नौ अक्षरगत स्तरमा सूचित गरी शैक्षिक क्षतिलाई न्यूनीकरण गर्दै शैक्षिक गुणस्तर प्रवद्र्धन गर्न यो पद्धति अपनाइएको हो ।
एक शैक्षिकसत्रमा कम्तीमा २२० दिन विद्यालय खुल्ने र १९२ दिन पठनपाठन सञ्चालन हुने तथा प्रतिविषय १७० पाठ्यभार वा १२८ घण्टा सिकाइ क्रियाकलापका आधारमा यसमा मापन गरिनेछ । प्रत्येक विषयको उत्तर पुस्तिकाको परीक्षण र सम्परीक्षण अङ्कमा गरिनेछ र सो अङ्क (सैद्धान्तिक र प्रयोगात्मक भएमा सोको कूल अङ्क) लाई तोकिएको अक्षर ग्रेड प्रदान गर्छ ।
डी र डीभन्दा तल्लो ग्रेड प्राप्त गरेका विद्यार्थीले कुनै दुई विषय माथिल्लो ग्रेडप्राप्तिका लागि पुनःमूल्याङ्कन गराउन चाहेमा माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा समितिको निर्णयबमोजिम हुने ग्रेड वृद्धि परीक्षामा सामेल हुन पाउनेछन् ।