बंगलादेशमा ‘हेडफोन’ प्रयोग गर्ने ५ सय ३५ जनाको रेल दुर्घटनामा निधन

AFP

बंगलादेशको राजधानी ढाकामा मोबाइल फोन प्रयोग गर्दै ट्रेनको लिकमा हिडेका ५ सय ३५ जनाको दुर्घटनामा निधन भएको प्रहरीले जनाएको छ।

विहिबार ढाका पुलिसले सन् २०१० देखि हालसम्मको तथ्यांक सार्वजनिक गर्दै ट्रेनको लिकमा हेडफोन प्रयोग गरेर हिडिरहेको अवस्थामा धेरैको मृत्यु हुने गरेको जानकारी दिएको हो।

दक्षिण एसियाको तेस्रो ठूलो देश मानिएको बंगलादेशको जनसंख्या १६ करोड ५० लाखको हाराहारी मानिन्छ। र, यो देशमा प्रत्येक वर्ष ट्रेनसँग सम्बन्धित मुद्धा जस्तै दुर्घटना र आत्महत्याका कारण १ हजार मानिसको निधन हुने गरेको छ।

ट्रेनको लिकमा लापरवाही गर्दै गीत सुनेर हिड्ने समस्या बिकराल बनेपछि सुरक्षाका लागि सरकारले अभियान नै चलाएको थियो।

‘देशको कानुनमा ट्रेनको लिकमा हिडडुल गर्न र हेडफोन प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ। तर, यो नियमलाई बेवास्था गर्दै मानिसहरू हिडडुल गर्छन्। जसका कारण मानिसहरूको दुर्घटना भइरहेको छ,’ ढाका रेल्वे पुलिस प्रमुख यसिन फारुक मोजुमदारले बताए।

ट्रेन दुर्घटनामा सर्वाधिक १ सय ९ जना २०१४ मा मारिएका थिए। तर, पछिल्लो केही वर्षयता जनतालाई सुसुचित गर्ने अभियान थालिएपछि दुर्घटनामा केही कमी आएको प्रहरीले जनाएको छ।

गत वर्ष निधन हुनेको संख्या ५४ मा झरेको थियो। ढाका रेल्वेका सहायक प्रहरी प्रमुख मोर्सद आलमले लाउडस्पिकरद्धारा केही समयदेखि जनतालाई जानकारी दिन थालिएको र यसको प्रभाव देखिएको बताए। तर, उनले अझै ट्रेनको लिकमा हिड्ने परिपाटी पूर्णरुपमा बन्द नभइसकेको बताए।

प्रहरीका अनुसार पछिल्लो साढे ६ वर्षयता करिब ६ हजार मानिस रेल्वे दुर्घटना र रेल्वेमा आत्महत्या गरेर मरेका छन्। बंगलादेशमा २ हजार ८ सय किलोमिटर रेल्वे लिक ओछ्याएको छ।

यस्तै भारतमा रेल दुर्घटनामा प्रत्येक वर्ष २५ हजार व्यक्तिको निधन हुने गरेको छ।

प्रकाशित मिति: : 2019-06-27 15:16:30

प्रतिकृया दिनुहोस्