छुट तथा पुनःजाँच सर्वेक्षण सुस्त गतिमा

तस्बिरः बिएल

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सञ्चालन गरेको छुट तथा पुनः जाँच सर्वेक्षण तनहुँको भानु नगरपालिकामा सुस्त देखिएको छ।
निजी आवास पुनर्निर्माण लाभग्राहीमा सूचीकृत हुन छुटेका सर्वसाधारणको गुनासोका आधारमा सञ्चालन गरिएको छुट तथा पुनः जाँच सर्वेक्षण भानुमा सुस्त देखिएको हो।
नगरपालिकामा सिफारिस भइआएको दुई हजार ८२९ र नयाँ दर्ता भएको ९६३ गरी तीन हजार ७९४ गुनासो रहेकामा एक हजार २१० घरधुरीको मात्रै छुट तथा पुनः जाँच सर्वेक्षण सकिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ ९अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार० तनहुँका प्रमुख जयप्रकाश गुप्ताले जानकारी दिए।
उनका अनुसार नगरपालिकामा छुट तथा पुनः जाँच सर्वेक्षणका लागि १६ जना प्राविधिक परिचालन गरे पनि काम तीव्र गतिमा हुन नसकेको बताए। गुप्ताले भने, “असार मसान्तभित्र छुट तथा पुनः जाँच सर्वेक्षण सकिसक्नुपर्ने भए पनि प्रगति न्यून देखिएको छ।” छुट तथा पुनःजाँच सर्वेक्षण सकिएपछि सूचीकृत हुने लाभग्राहीले असार महीनामै सम्झौता गरिसक्नुपर्ने भए पनि कामले गति लिन नसकेको उनले बताए।
निजी आवास पुनर्निर्माणको जिम्मेवारी स्थानीय तहमा हस्तान्तरण भइसकेकाले भूकम्प पीडितलाई पहिलो प्राथमिकतामा राखेर जनप्रतिनिधिले काम गरिदिनुपर्ने गुप्ताले बताए। उनले भने, “जनप्रतिनिधिले यो कार्यमा सकारात्मक भएर सहयोग गरिदिए समयमै काम सम्पन्न गर्न सहयोग पुग्छ ।” उनका अनुसार तनहुँका पाँच वटा स्थानीय तहमा छुट तथा पुनः जाँच सर्वेक्षण सकिएको छ।
भानु नगरपालिका–१, २, ५ र ७ मा अहिलेसम्म पनि छुट तथा पुनः जाँच सर्वेक्षणको काम शुरु हुन सकेको छैन । भानु नगरपालिका–१ का वडाध्यक्ष प्रेमबहादुर लामाले प्राविधिक नआइदिएकाले सर्वेक्षणको काम शुरु गर्न नसकिएको बताउछन्। उनका अनुसार वडामा २३९ घरधुरीको गुनासो दर्ता भएको छ।
भानु नगरपालिका–३ का वडाध्यक्ष दलनारायण श्रेष्ठले २२८ मध्ये १५० घरधुरीको सर्वेक्षण भइसकेको जानकारी दिए। भानु नगरपालिका–१३ का वडाध्यक्ष रामबहादुर बानियाँले एक दिनमा आठभन्दा बढी घरधुरीको सर्वेक्षण गरेपछि भत्ता पाउने व्यवस्था रहेकाले उनीहरुले एक दिनमा उक्त सङ्ख्याभन्दा बढी घरधुरीको सर्वेक्षण नगर्ने गरेको गुनासो गरे। उनले भने, “प्राविधिकहरुले एक दिनमा आठ वटाभन्दा बढी घरधुरीको सर्भे गर्न मान्दैनन्, त्यही कारणले पनि सर्वेक्षण कार्य सुस्त भइरहेको छ।”
भानु नगरपालिका–११ मा ४२० गुनासो दर्ता भए पनि अहिलेसम्म १५० घरधुरीको मात्रै छुट तथा पुनःजाँच सर्भे सकिएको वडाध्यक्ष तारानरेश पौडेलले जानकारी दिए। एउटा घर सर्भे गर्दा एक घण्टाभन्दा बढी लाग्ने गरेको र दिनमा आठ वटाभन्दा बढी घरधुरीको सर्भे गर्न प्राविधिक नमान्ने गरेको उहाँको गुनासो छ।
छुट तथा पुनः जाँच सर्वेक्षणमा वडाका तर्फबाट पूर्ण सहयोग रहे पनि काममा ढिलाइ भइरहेको भानु नगरपालिका–९ का वडाध्यक्ष निलमसञ्जीव श्रेष्ठले बताए। सर्भे कार्यका लागि वडा सदस्यलाई प्राविधिकसँग खटाइएको र २२९ गुनासो दर्ता भएकामा ७७ घरधुरीको सर्भे सकिएको उनले जानकारी दिए।
छुट तथा पुनः जाँच सर्भेका लागि स्थानीय तहको पूर्ण सहयोग रहने तर प्राविधिककै ढिलासुस्तीले काममा ढिलाइ भए त्यसको मार जनतालाई पार्न नहुने भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले बताए। उनले भने, “एक दिनमा आठ वटा घरधुरीको सर्भे गरेर तोकिएकैै समयमा काम सम्पन्न गर्न गाह्रो छ । त्यस्तो भए त्यसको मार भूकम्प पीडितलाई दिन पाइँदैन।”
छुटेकालाई पहिलो प्राथमिकतामा राखेर छुट तथा पुनः सर्वेक्षण गर्नुपर्ने र असार मसान्तभित्रै सक्नुपर्ने चुनौती रहेको प्रजिअ रुद्रप्रसाद पण्डितले बताए। असार मसान्तभित्र सर्वेक्षण गरेर पहिलो किस्ता दिनुपर्ने भएकाले वडाध्यक्षले सक्रियता देखाइदिए निश्चित अवधिमा यो काम सकिने जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले बताए। रासस

प्रकाशित मिति: : 2019-06-27 13:39:57

प्रतिकृया दिनुहोस्