नेपालको पूर्वी सीमासँग जोडिएको बिहार राज्यको विभिन्न ठाउँमा बुधबार तीब्र गतिमा आएको हावाहुरी र पानीका कारण ३० जनाको निधन भएको छ।
भारतीय समाचार एजेन्सीका अनुसार बिजुलीको पोल खसेर उनीहरूको मृत्यु भएको हो। घटनामा २७ जना घाइते भएको र उनीहरूको उपचार स्थानीय अस्पतालहरूमा भइरहेको बताइएको छ।
हावाहुरी र पानीका कारण सबैभन्दा बढी भागलपुर र बेगुसराय जिल्लामा मानिसहरूको मृत्यु भएको छ। यी दुवै जिल्लामा ५–५ जनाले ज्यान गुमाएका थिए।
बिहारका मुख्यमन्त्री नितिश कुमारले घटनाप्रति दुःख व्यक्त गरेका छन्। यसअघि गर्मीका कारण दुई साताअघि बिहारमा सयभन्दा बढी मानिसको निधन भएको थियो।