लागुऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रणका लागि समुदाय र प्रहरीबीच सहकार्य आवश्यक रहेकोमा जोड दिइएको छ। लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा मानवअधिकार तथा शान्ति समाज रूपन्देहीले आज बुटवलमा आयोजना गरेको कार्यक्रममा सरोकारवालाले लागुऔषधको दुरुपयोगले व्यक्ति मात्र नभई समाज र राष्ट्रलाई असर पार्ने भएकाले यसको रोकथाममा सबै लाग्नुपर्ने बताए।
कार्यक्रममा शान्ति समाजका वरिष्ठ उपाध्यक्ष गोविन्द खनालले विद्यालय, समुदाय र कार्यस्थललाई लागुऔषध निषेधित क्षेत्र तोक्न माग गरे। “लागुऔषधको विषयलाई पाठ्यक्रममै समावेश गरी समुदाय निगरानी कार्यक्रम सञ्चालन गर्नुपर्छ”, उनले भने।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले लागुऔषध दुव्र्यसनको अवस्था विकराल भएकाले कानूनले मात्रै यसको समस्या समाधान सम्भव नभएको बताए। उनले लागुऔषध दुरुपयोग नियन्त्रणका लागि सबैले आआफ्नो क्षेत्रबाट पहल गर्नुपर्नेमा जोड दिए। “लागुऔषध दुव्र्यसनीमा फस्नु भनेको दलदलमा फस्नु जस्तै हो। एकपटक परेपछि निस्कन गाह्रो हुन्छ”, उनले भने, “लागुऔषधलाई ‘नो’ भन्न सिकौ।”
मानवअधिकार आयोग प्रदेश नं ५ का निर्देशक सम्झना शर्माले कानून कार्यान्वयन गर्ने निकायको सक्रियताले मात्रै लागुऔषध नियन्त्रण सम्भव नभएकाले सबै सङ्घसंस्था र समुदायबीच सहकार्य हुनुपर्ने बताए। राष्ट्रिय समाचार समितिका पूर्वअध्यक्ष बालकृष्ण चापागाईंले लागुऔषध दुरुपयोग रोक्न सबै मिलेर अभियान चलाउनुपर्ने र त्यसमा मिडियाले साथ दिने धारणा राखे।
कार्यक्रममा लागुऔषध रोकथाममा प्रहरीको भूमिकाबारे प्रस्तुति दिँदै प्रहरी निरीक्षक हेमबहादुर केसीले लागुऔषध दुव्र्यसनीले मानसिक अवस्थामा खलल पु¥याउने भएकाले यसबाट टाढा रहन र अरुलाई सचेत गराउन युवालाई आग्रह गरे। सबैभन्दा बढी १५ देखि २४ वर्ष उमेर समूहका किशोरकिशोरी र युवा कुलतमा फस्ने गरेको तथ्याङ्क प्रस्तुत गर्दै उनले यसको नियन्त्रणका लागि सबै सचेत र जागरुक हुनुपर्ने बताए।
समाजका जिल्ला अध्यक्ष डिपी खनालले लागुऔषध दुव्र्यसनविरुद्ध परिवार र समाजलाई जागरुक बनाउने अभियानमा लाग्न युवालाई आग्रह गरे।