फेसबुकलाई प्लेटफर्म बनाएर ठगी गरिएका रोचक कथाहरू हरेक दिनजसो सार्वजनिक हुन थालेका छन् ।
प्रहरी कार्यालयले प्रेस विज्ञप्तिका रूपमा सार्वजनिक गरेपछि त तिनीहरू कथा हैन, समाचारका लागि सूचना बन्छन् ।
यस्तै एउटा सूचना प्रहरीले सार्वजनिक गरेको छ ।
सूचनाअनुसार यो कथा हो- दोलखा शैलुङ गाउँपालिका -५ स्थायी ठेगानामा भई हाल भक्तपुर बालकोट बस्ने २३ वर्षीय संगिता भन्ने कल्पना बस्नेतको । उनी फेसबुकमा फेक आईडी बनाएर दोलखा शैलुङ गाउँपालिका- ८ बस्ने २४ वर्षीय हरिबहादुर कार्कीसँग साथी बनिन् । विवाह गर्ने बहानामा उनलाई मायाजालमा फसाइन् र अन्तत: नराम्ररी चार लाख ५५ हजार ठगिन् ।
प्रहरीका अनुसार उनले संगीता भुजेलले प्रयोग गर्ने फेसबुक आईडीबाट फ्रेन्ड रिक्वेस्ट पठाई साथी बनी आफूले चिनेको सुन्दर केटीको फोटो राखी फेक आईडी बनाई सो फेसबुक आईडी र मोबाईल नम्बर समेत हरिबहादुर कार्कीलाई पठाई उक्त फेसबुकको केटीले तपाईंलाई धेरै माया गर्छिन भनी आफू नै सो फेसबुकबाट कुराकानी गरी संगिता भन्ने कल्पनाले हरिबहादुर कार्कीलाई विभिन्न नम्बरबाट फोन गरी तपाईंलाई माया गर्ने केटी दुर्घटनामा परी अस्पतालमा उपचार भइरहेको छ, उपचार गर्नको लागि रकम पठाई दिन आग्रह गरिन् ।
पटक-पटक गरी चार लाख ५५ हजार पठाउन लगाई लिएकोले फेसबुकमा कुरा गर्ने केटीसँग भेटेर कुरा गर्छु भन्दा बस्नेतले तपाईलाई माया गर्ने केटीको उपचारको क्रममा भारतमा मृत्यु भयो बताइन् । यसो भनेपछि कार्की छाँगाबाट खसेजस्तै भए । उनलाई शंका लागेर खोजबिन गर्दै जाँदा कल्पना नै संगीता बनेर ठगी गरेको थाहा पाए ।
त्यसपछि कार्कीले प्रहरीमा उजुरी दिए । प्रहरीले खोज्दै जाँदा बस्नेत काठमाडौं महानगरपालिका- १२ टेकुबाट पक्राउ परिन् । बस्नेतको साथबाट उनले प्रयोग गर्ने सिमकार्ड सहितको मोबाइ-२ थान बरामद गरेको छ । फोनको हिस्ट्री हेर्ने बित्तिकै धेरै कुरा थाहा भएको प्रहरीले जनाएको छ ।
केही दिनअघि मात्र डायना सेकेण्ड नामकी युवतीले पनि फेसबुकलाई प्लेटफर्म बनाएर एक भारतीय युवालाई ठगेकी थिइन् । यसपटक कल्पना बस्नेतले पनि फेबसुकलाई नै प्लेटफर्म बनाएर ठगी गरेकी छिन् । यी दुबै घटनामा कतै न कतै पैसा र यौन जोडिएको छ ।