अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु २५ हजार घुस लिएको अभियोगमा शिक्षा विकास तथा समन्वय एकाइ सल्यानका एकाइ प्रमुख धनबहादुर वलीलाई पक्राउ गरेको छ।
शिक्षक सरुवा प्रक्रिया सहजीकरण गरिदिने भन्दै प्रमुख वलीले सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा आयोगको सुर्खेतबाट गएको टोलीले आज उनकै कार्यलय परिसरबाट पक्राउ गरेको हो। आरोपी वलीको अनुसन्धान भइरहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।
त्यस्तै आयोगले साना तथा मझौला कृषक आयस्तर वृद्धि परियोजना नेपालगञ्जमा कार्यरत तत्कालीन अनुगमन तथा मूल्याङ्कन अधिकृत देवराज भुसालसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। नारायण नगरपालिका दैलेख–१ कुइकानास्थित श्रीस्थान ताजा तरकारी कृषक समूहलाई अदुवा खेती गर्न प्रदान गर्नुपर्ने रकम नदिइ नक्कली हस्ताक्षर गराई भ्रष्टाचार गरेको अभियोग लागेको छ।
आयोगका अनुसार कर्णाली सामुदायिक विकास केन्द्र नेपालगञ्जमा कार्यरत तत्कालीन अनुगमन तथा मूल्याङ्कन अधिकृत भुसाल, कृषक समूहका अध्यक्ष रामकुमारी भन्ने रामकला केसी र तत्कालीन कृषि प्राविधिक मोतिप्रसाद न्यौपानेविरुद्ध रु पाँच लाख ७७ हजार ३५० बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ। उनीहरुलाई बिगोबमोजिम कारवाही र कैद सजायको समेत माग गरिएको आयोगले जनाएको छ।