प्रहरीले टेकुमा किन्यो ६७ करोडमा जग्गा, महानगरीय अपराध महाशाखाको कार्यालय बन्ने

The Himalayan Times

४ वर्षअगाडि काठमाडौंमा आएको महाभूकम्पमा क्षति भएपछि हनुमानढोकाबाट अनिश्चित कालका लागि टेकु सरेको महानगरीय अपराध महाशाखाको कार्यालय अब त्यही बन्ने भएको छ।

नेपाल आयल निगमले टेकुमा अस्थाई बसोबास गर्दै आइरहेको महाशाखालाई आफ्नो जग्गा बेचेको छ। महाशाखाले प्रति आना ४७ लाख रुपैयाँको दरले ९ रोपनी जग्गा ६७ करोड ६८ लाखमा किनेको हो।

आइतबार नै निगमको जग्गा महाशाखाको नाममा नामसारी भइसकेको प्रहरीले बताएको छ। ‘नेपाल आयल निगमको नाममा रहेको टेकुको जग्गा आइतबार कानुनी रुपमा महानगरीय अपराध महाशाखाको नाममा आएको छ,’ महाशाखाका एसपी ओम अधिकारीले ब्रेक एन लिंक्सलाई जानकारी दिए।

टेकुस्थित महानगरीय प्रहरी बसेको जग्गा पहिले नेशनल ट्रेडिङको नाममा थियो। उसले गत वर्षमात्र नेपाल आयल निगमलाई ५१ रोपनी जग्गा प्रति आना ४० लाख रुपैयाँको दरले ३ अर्ब २५ करोड रुपैयाँमा किनेको थियो।

प्रकाशित मिति: : 2019-06-24 13:48:35

प्रतिकृया दिनुहोस्